४ मंसिर, काठमाडौं । नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीलाई ‘एक थोपा’ पनि हवाई इन्धन उपलब्ध गराउन नसक्ने भनेपछि शुक्रबारका निर्धारित दुई तिहाइ उडान रद्द भएका छन्।
भारतीय नाकाबन्दीपछि हवाई इन्धनको अभाव टार्न आयल निगमको आग्रहमा नेपाल वायुसेवा निगमले भारतबाट उडानमार्फत तेल ल्याउने गरेको छ। वायुसेवाले बिहीबार आन्तरिक कारणले तेल ल्याउन नसकेकै आधारमा निजी वायुसेवालाई तेल नदिने जनाएको नागरिक दैनिकमा खबर छ ।
‘कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यबाट यो प्रेरित देखिन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक निजी वायुसेवा सञ्चालकले भने, ‘नेपाल वायुसेवालाई यसबाट हटाएर यो ठेक्का लिन चाहने विदेशी वायुसेवा कम्पनीलाई दिने नियतले यसो गरिँदैछ।’
नेपाल वायुसेवाबाट तेल ल्याउँदा कमिसन नपाइने भएकाले पनि आयल निगम नेतृत्व बिस्तारै उसलाई यसबाट अलग गर्न चाहन्छ। साथै, हवाई इन्धन अभाव सिर्जना गराउन सकियो भने त्यस किसिमको वैकल्पिक व्यवस्थाका निम्ति सरकारलाई दबाब सिर्जना गराउनसमेत सहयोग पुग्ने निगम नेतृत्वको बुझाइ छ।
हवाई इन्धन बिक्रीको जिम्मेवारी लिएको आयल निगमको सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार बिहीबारसम्मको हवाई इन्धनको मौज्दात १ लाख ८ हजार लिटर हो। ‘आज नेपाल वायुसेवाले तेल ल्याउन नसकेका कारण भोलि कुनै विपत्ति पर्योौ भने मौज्दात राख्नका निम्ति मात्र तेल दिन नसकिने भनिएको हो,’ यादवले भने, ‘भोलि उहाँहरूले तीन उडान गरेर ल्याइदिने भन्नुभएको छ।’
नेपाल वायुसेवाका प्रवक्ता एवं कर्पोरेट डाइरेक्टर रामहरि शर्माले एअरबसका पाइलटहरू तालिममा जानुपरेकाले बैंगलोरको उडान तेल ल्याइरहेको बोइङले गर्नुपरेका कारण मात्र ल्याउन नसकिएको बताए। उनले शुक्रबार तीन उडान गरेर हवाई इन्धन ल्याउने तयारी भएको पुष्टि गरे।
EmoticonEmoticon