इन्धन खरिद सम्झौता गर्न ७ सदस्यीय नेपाली टोली भोलि चीन जाने

२०७२ मंसिर ३ गते १८:५६ मा प्रकाशित
    
  
nepal china३ मंसिर, काठमाडौं । चीनसँग इन्धन खरिदको ब्यापारिक सम्झौता गर्न नेपाली टोली भोलि शुक्रबार चीन जाने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय टोली शुक्रबार बेइजिङ उड्नेछ ।
टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभागका प्रतिनिधी रहनेछन् । परराष्ट्र मन्त्रालयबाट भने चीनस्थित नेपाली दूतावासका प्रतिनिधि सहभागी हुने वाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्यायले जानकारी दिए ।
भ्रमणका क्रममा नेपाल आयल निगम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशन -पेट्रो चाइना)सँग इन्धन खरिद सम्बन्धी व्यापारिक सम्झौता गर्ने हुन सक्नेछ । चीनसँग इन्धन खरिद गर्ने विषयमा नेपाल सरकार र चीन सरकारबीच सम्झौता भइसकेको छ ।
नेपाली भ्रमण टोलीले पेट्रो चाइनासँग छलफल गरेर इन्धनको मूल्य तय गर्नेछ । चीनले इन्धनमा कर लगाउने वा नलगाउने भन्ने विषय पनि दुबै पक्षबीचको छलफलबाट टुंगाइने छ ।
‘चीनले कर नलगाई इन्धन दिनसक्ने कुरा गरेका छन्’ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भने-‘ट्रान्सपोर्ट कारण इन्धनको मूल्य थोरै तलमाथी भएपनि भारतको मूल्यमा धेरै फरक पर्नेछैन ।’ इन्धनमा दोहोरो कर नहोस भनेर पहल गरिरहेको उनले बताए ।
आयल नियम र पेट्रो चाइनाबीच सम्झौता भएमा नेपालले चीनसँग व्यापारिक रुपमा पहिलोपटक इन्धन खरिद गर्नेछ । यससँगै इन्धनमा भारतसँगको एकाधिकार तोडिने छ । मन्त्री पुनले अहिलेको संकटबाट पाठ सिक्दै अब एउटा मुलुकसँगमात्र निर्भर नहुने स्पष्ट पारे ।
चीन र नेपालबीच भएको इन्धन आपूर्तिको समझदारीमा नेपालको कुल मागको ३३ प्रतिशत चीनबाट ल्याउने उल्लेख छ ।
व्यापारिक सम्झौतामा नेपालले चीनसँग खरिद गर्ने इन्धनको मूल्य परिमाण, गुणस्तर लगायत सबै विषय समावेश हुनेछन् । नेपाल पठाउने इन्धनमा कर लगाउने/नलगाउने, कुन नाकाबाट कसरी पेट्रोलियम पदार्थ दिने, ट्यांकर चालकहरुको भिसा लाग्ने/नलाग्ने लगायतका सबै विषय पनि सम्झौतामा उल्लेख हुने आयल निगमले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/11/351951/#sthash.25CukaUP.dpuf
Previous
Next Post »