नाकाबन्दीकाे नाममा ग्यास कालोबजारी

मंसिर ३, २०७२- खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला पृथ्वी राजमार्ग आसपासका १३ वटा बोटलिङ सेन्टरले सिलिन्डर रातारात राजधानी पुर्‍याएर कालोबजारी गरिरहेको खुलेको छ ।
अतिरिक्त नाफा कमाउने उद्देश्यले ग्यास व्यापारीले पुराना र नियमितलाई छल्दै ७ किलोको सिलिन्डरलाई ४ हजार ५ सयसम्म लिने गरेका छन् । उनीहरूले शतप्रतिशत मूल्य बढाएर नयाँ ग्राहकलाई सिलिन्डर बिक्री गर्दै आएका छन् । ‘ग्यास उद्योगका सिलिन्डर जिल्लामा छैनन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले भने, ‘उद्योगहरूले राजधानीमै नयाँ ग्राहक बढाएका छन् ।’ आधा ग्यास भरिएको सिलिन्डरबाट पुरै मूल्य लिन पाइने भएपछि कालोबजारी मौलाएको छ ।
जिल्लाका उद्योगमध्ये बाबा र श्री ग्यासका ग्राहक बढी छन् । चितवन र महादेवबेसीकै केन्द्रबाट ती ब्रान्डका ग्यास बिक्री भइरहेका छन् । साईबाबा, गीता र श्रीकृष्णले मात्र आसपास र सदरमुकामका डिलरलाई सिलिन्डर उपलब्ध गराइरहेका छन् । नाकाबन्दीअघि जिल्लाका सबै उद्योगले दैनिक १६ हजार सिलिन्डर राजधानी पठाउँथे । नाकाबन्दीपछि स्थानीय ग्राहकलाई ७ किलोका १ हजार सिलिन्डर वितरण गरेर बाँकी सबै राजधानी पुर्‍याइएको उद्योग वाणिज्य संघका पदाधिकारी बताउँछन् ।
‘सबै सिलिन्डर कालोबजारीका लागि पठाइएको हो,’ एक पदाधिकारीले भने, ‘उद्योगहरूले ब्रहमलुट गरिरहेका छन् ।’
मासिक ५ हजार सिलिन्डर खपत गर्दै आएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीको थाक्रे–४ स्थित मेट्रो ग्यासले नाकाबन्दी अवधिमा लिएको २ हजार ६ सयमध्ये १ हजार २ सय सिलिन्डर राजधानी पठाएको छ ।
अन्य उद्योग आसपासका बजारमा ७ किलो ग्यास रहेको सिलिन्डर ५ हजारमा बिक्री हुन्छ । करिब १० हजार सिलिन्डर उद्योगमै थन्केका छन् । उद्योगहरू स्थानीय डिलरलाई दिनुभन्दा सिलिन्डर राजधानी पुर्‍याउन नै रुचाउँछन् ।
तौलमा पनि ठगिएको गुनासो उपभोक्ताको छ । विशालटारस्थित ग्यास उद्योगनजिकका एक युवकले तौलिँदा ६ किलो मात्र भयो । त्यसको तौल ७ दशमलव १ किलो हुनुपर्छ । १४ किलोको कोसी ग्यास पृथ्वी राजमार्गका बजारमा ५ देखि ६ हजारसम्ममा बिक्री हुने गरेको छ ।
कालोबजारी गर्ने स्थानीय समूह उद्योग आसपासकै बजारमा सक्रिय छन् । स्थानीय टोले गुन्डाहरूले समेत बढी मूल्यमा बिक्री गर्न सिलिन्डर माग्ने गरेका छन् । त्यस्ता टोले गुन्डाले राजधानीबाट आउने नयाँ ग्राहकलाई बढी मूल्य लिएर बेच्ने गरेका छन् । कालोबजारीमा ग्यास पाइने भएकाले बालुवा बोक्ने ट्रकमा खाली सिलिन्डर हालेर राजधानीका ग्राहक उद्योग परिसरमा आउने गरेका छन् ।
डिलरलाई कमिसन दिनु नपर्ने, नयाँ ग्राहक पाइने र ढुवानी खर्च बच्ने भएपछि उद्योगहरू कालोबजारीमा लागेका स्थानीय बासिन्दा बताउँछन् । अवैध कारोबार रोक्न सरकारी निकायले बेवास्ता गरेको उनीहरूले बताए ।
सरकारी निकायको रबैया कालोबजारीलाई प्रश्रय गर्ने शैलिको देखिएकामा उनीहरू आक्रोशित छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बजार अनुगमन समितिका संयोजक नन्दलाल शर्माले पनि उपभोक्ताको गुनासो बढेको स्वीकारे । ‘अनुगमनलाई अझ प्रभावकारी बनाउँछौं,’ उनले भने ।


Previous
Next Post »