२०७२ मंसिर ४ गते ६:४८ मा प्रकाशित
४ मंसिर, काठमाडौं । ३० हजार सलाइन आपूर्तिको गोदाममा ठूला सरकारी अस्पतालका प्रमुखहरूले औषधिसहित सलाइनको समेत अभाव भएको बताउँदै आएका छन् । तर, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले आफ्नो गोदाममा अहिले पनि झन्डै तीस हजार बोतल नर्मल सलाइन सुरक्षित रहेको जनाएको छ ।

त्यस्तै, भिटामिन र ग्लुकोजसमेत १२ हजारभन्दा बढी गोदाममा मौज्दात छ । महाशाखाका निर्देशक डा. भीम टिंकरीले भूकम्पका वेला प्राप्त सहयोगबाट संकलित सलाइन, ग्लुकोजजस्ता अत्यावश्यक औषधिजन्य पदार्थ गोदाममा थन्किएको बताए । उनले ती औषधि आवश्यकताका आधारमा उपत्यकाका केन्द्रीय अस्पतालमा पठाउन सकिने जानकारी दिए । ‘टेकुमै रहेको हाम्रो अस्थायी गोदाममा भूकम्पपछि सहयोगमा आएका धेरै औषधि छन् । त्यसमध्ये अहिले बजारमा सर्टेज भएको भनिएका सलाइन तथा ग्लुकोजसमेत छ । अभाव भएका ठाउँमा यी औषधिले काम चलाउन सकिन्छ,’ टिंकरीले भनेको
नयाँ पत्रिकामा खबर छ ।
भूकम्पका वेला राष्ट्रसंघीय निकायहरू युनिसेफ, डब्लुएचओले आपूर्ति व्यवस्था महाशाखाको पार्किङ क्षेत्रमा अस्थायी गोदाम निर्माण गरी विभिन्न राष्ट्र, संस्था तथा व्यक्तिबाट प्राप्त सहयोगको औषधि भण्डारण गरी राखेको छ । ती गोदाममा औषधिसहित उपचारका लागि प्रयोग हुने उपकरणसमेत रहेको महाशाखाले जनाएको छ ।
EmoticonEmoticon