सुरक्षासहित ग्यास सिलिन्डर राजधानी भित्रिँद

सुरक्षासहित ग्यास सिलिन्डर राजधानी भित्रिँदै


२०७२ मङ्शिर ३ बिहीवार6526 पटक पढिएको

काठमाडौं: स्थानीयको अवरोधका कारण धादिङका विभिन्न ठाउँमा थन्किएका २२ हजार सिलिन्डर ग्यास रातको समयमा राजधानी भित्र्याउने तयारी गरिएको छ।
 
स्थानीयले पहिला आफूहरूले प्राथमिकता पाउनुपर्ने भन्दै ग्यास बोटलिङ प्लान्टबाट सिलिन्डर निकाल्न नदिएपछि सुरक्षाकर्मीको सहयोगमा रातको मौका पारेर उपत्यका ल्याउने तयारी गरिएको हो। स्थानीय प्लान्ट परिसर र परिसर बाहिर घेरा हालेर धर्नामा बसेपछि फिलिङ गरिएका सिलिन्डर राजधानी भित्र्याउन सकिएको छैन।
 
‘तीन उद्योगको सिलिन्डर कडा सुरक्षाका साथ आज राति भित्र्याउने तयारी गरेका छौं', ग्यासको वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित गर्न गठन गरिएको कन्ट्रोल रुमका संयोजक हरिप्रसाद बेलबासेले भने। बेलबासेका अनुसार राजधानी भित्र्याउन तयार पारिएका २२ हजार पाँच सय सिलिन्डर बोटलिङ प्लान्टमै थन्किएका छन्।
 
तिनमा एचपी, सिद्धार्थ र एसटीसी ब्रान्डको ग्यास छन्।स्रोतका अनुसार स्थानीय तथा राजधानीबाट गएको उच्छृंखल समूहले बोटलिङ प्लान्टमै घेरा हालेपछि मंगलबार राजधानी भित्रिनुपर्ने एचपी ब्रान्डको करिब सात हजार पाँच सय थान, सिद्धार्थको पाँच हजार थान र एसटीसीको १० हजार थान सिलिन्डर उतै थन्किएको हो।
स्थानीयले पहिला आफूहरूले प्राथमिकता पाउनुपर्ने भन्दै ग्यास बोटलिङ प्लान्टबाट सिलिन्डर निकाल्न नदिएपछि सुरक्षाकर्मीको सहयोगमा रातको मौका पारेर उपत्यका ल्याउने तयारी गरिएको हो।
बेलबासेका अनुसार एचपी ब्रान्डकै करिब दुई हजार पाँच सय थान सिलिन्डर मंगलबार राजधानी भित्रिएको थियो। यसैगरी श्रीराम ब्रान्डको पनि दुई हजार पाँच सय थान सिलिन्डर सोही दिन भित्रिएको थियो। श्रीराम ब्रान्डको दुई हजार पाँच सय, सगर ब्रान्डको दुई हजार पाँच सय र एभरेस्ट ब्रान्डको १० हजार थान सिलिन्डर शुक्रबार रातिसम्म राजधानी भित्र्याउने तयारी गरिएको छ। 
 
'फिलिङ भइसकेका तीन उद्योगका करिब १५ हजार थान सिलिण्डर शुक्रबार रातिसम्म भित्र्याउने हाम्रो तयारी छ', बेलबासेले भने।ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले उद्योगीले सुरक्षाको अभाव देखाएर उद्योग परिसरबाटै सिलिन्डर वितरण गरेको आरोप लगाए।
 
थापाले उद्योग परिसरबाट सिलिण्डर वितरण गर्दा आम उपभोक्ता लाभान्वित हुन नसकेको औंल्याए। उनले थोरै संख्यामा सिलिन्डर भित्र्याउन ढुवानी खर्च बढी पर्ने भएकाले ठूलो सवारीसाधनमा बढी परिमाणमा सिलिन्डर ल्याई डिलरमार्फत वितरण गर्ने व्यवस्था मिलाउन सुझाव दिए।
 
धादिङस्थित सहकर्मी मनिष दुवाडीका अनुसार जिल्लाका सुरक्षा निकायले सिलिन्डर लैजान सम्बद्ध निकायले सुरक्षा माग नगरेको बताएका छन्। 'राजधानीमा सिलिन्डर लैजान अप्ठ्यारो परेको जानकारी छैन', प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भने, ‘सम्बन्धित उद्योग र वाणिज्य विभागले सहयोग मागेका पनि छैनन्।'
 
असुरक्षाको कारण राजधानीमा सिलिन्डर पठाउन सकिएन भन्ने हल्ला निराधार भएको उनको भनाइ छ। धादिङ प्रहरी प्रमुख सविन प्रधानले कुनै पनि उच्छृंखल समूह ग्यास उद्योगलाई घेराबन्दी गर्न नआएको दाबी गरे।
 
'केही स्थानीयले ग्यासको डिलर नभएको उद्योगको सिलिन्डर बाँड्नुपर्छ भनेर सामान्य अवरोधमात्रै गरेका थिए', उनले भने, 'गुन्डा आएको भए हामी ठीक पारिसक्थ्यौं।'

Previous
Next Post »