सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश





सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश
नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश दिएका छन्। उनीहरूले केन्द्र सरकारसँग मिलेर कारबाही गर्नुपूर्व यसबारे अनुसन्धान गर्न आदेश दिएका छन्।
प्रयोगशाला परीक्षणमा म्यागी चाउचाउमा सिसाको मात्रा कानुनले तोकेभन्दा बढी फेला परेपछि यसको बिक्री घटेको छ। परीक्षणमा म्यागी चाउचाउमा राखिएको भनी उल्लेख नगरिएको र स्वादिलो बनाउने रासायनिक पदार्थ मोनोसोडियम ग्लुटामेट (एमएसजी) पनि हालेको भेटिएको छ।
दिल्ली नगर प्रशासनले मंगलबार म्यागीका १३ वटा नमूना परीक्षण गरेको थियो। परीक्षणमा तीमध्ये १० मा सिसाको मात्रा तोकिएको भन्दा बढी भई खान असुरक्षित रहेको पाइयो। यसअघि उत्तर प्रदेशका खाद्य सुरक्षा अधिकारीले गरेको परीक्षणमा पनि सिसाको मात्रा तोकिएको भन्दा निकै बढी फेला परेको थियो।
दिल्ली सरकारले स्विजरल्यान्डमा केन्द्रीय कार्यालय रहेको नेस्ले एसएको सहायक संस्था नेस्ले इन्डियामाथि कानुनी कारवाही गर्ने जानकारी दिएको छ। त्यहाँका अधिकारीले बुधबार कम्पनीका अधिकारीसँग भेट गरेका छन्। दिल्ली सरकारले आफ्नो क्षेत्रमा म्यागी चाउचाउ बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ। दिल्ली सहरका प्रमुख पसलहरूले पनि म्यागी चाउचाउ बिक्री नगर्ने बताए।
म्यागीले ‘दुई मिनेट' मा चाउचाउ तयार हुने विज्ञापन प्रशारण गर्दै आएको छ। सजिलो तयारी चाउचाउ भएकाले स्कुल र कलेजका विद्यार्थीको मनपर्ने खाद्यपदार्थ बनेको छ। म्यागी चाउचाउ नेस्लेको सबैभन्दा छिटो बिक्री हुने खाद्य सामग्री बनेको छ। यसले बर्सेनि १५ अर्ब भारतीय रूपैयाँ बराबरको चाउचाउ बिक्री गर्छ।
भारतीय फिल्म जगतका केही ठूला कलाकारले म्यागीको टेलिभिजन विज्ञापनमा काम गरेका छन्। उनीहरूले भारतीय बजारमा म्यागीको प्रवर्द्धन गरेका छन्। बिहारको एउटा अदालतले मंगलबार बलिउडका ठूला अभिनेता अमिताभ बच्चनसहित माधुरी दीक्षित र प्रिती जिन्टाले म्यागीको ब्रान्ड एम्बेसडर बनेको भनी उनीहरूविरुद्ध मुद्धा दायर गर्न आदेश दिएको छ।
भारतको केन्द्र सरकारले गलत सूचनामार्फत् अत्यावश्यक उत्पादन र खाद्य सामग्री बिक्री वितरण नियन्त्रण गर्न नयाँ कानुन तयार गरेको छ। भारतको संघीय खाद्यमन्त्री रामविलास पासवानले कानुन उल्लंघन गर्नेलाई आजीवन कारावाससम्म सजाय हुने व्यवस्था गरिएको बताए।
साताको सुरुमा नेस्ले इन्डियाले विज्ञप्ति जारी गर्दै म्यागी उपयोग गर्न सुरक्षित भएको दाबी गरेको थियो। अत्यधिक मात्रामा सिसाको सेवनले मिर्गौला, हाड तथा स्नायु प्रणालीमा क्षति पुर्यानउँछ। सिसा विशेष गरी बालबालिकाका लागि हानिकारक हुन्छ। एमएसजीको अत्यधिक सेवनले स्नायु प्रणालीमा क्षति पुर्याकउनसक्ने चिकित्सक बताउँछन्।
केरल सरकारले म्यागी चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको छ। हरियाणा, पश्चिम बंगाल र महाराष्ट्र सरकारले पनि म्यागी चाउचाउको नमूना परीक्षण गर्न थालेका छन्।
भारतको खाद्य नियामक संस्थाले २९ राज्यलाई म्यागी चाउचाउको नमूना परीक्षण गर्न निर्देशन दिएको छ।

Previous
Next Post »