भारतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीको मृत्यु

भारतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीको मृत्यु

  • बुधबार २ मंसिर, २०७२

लहान-सिरहाको दक्षिणी सीमावर्ती माडर गाउँसँग जोडिएको भारतीय जयनगर बजारमा किनमेल गरेर फर्किन लागेको समयमा मङ्गलबार अपराह्न बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ।
जिल्लाको दक्षिणी सीमावर्ती लगडी गदियानी गाविस–२ का करिब २५ वर्षीय सरोजकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडरका प्रहरी नायब निरीक्षक शङ्कर चौधरीले बताए।
यादवको खल्तीमा रहेको नेपाली रुपैयाँ र कागजातको आधारमा नेपाली रहेको भारतीय जयनगर प्रहरीले समेत पुष्टि गरेको प्रनानि चौधरीले उल्लेख गरे। प्रहरीका अनुसार करेन्ट लागेर यादव चढेको मोटरसाइकलसमेत पूर्णरुपले जलेको थियो।

एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनको तार झरेर करेन्ट लाग्दा अर्का एक जनाको मृत्यु भएको बताइए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनी सिरहाको गोलबजार क्षेत्रको हुनसक्ने आशङ्का गरिएको भएपनि पुष्टि हुन नसकेको माडर प्रहरीले जनाएको छ ।

नेपालमा मधेसी दलको आन्दोलनको कारणले लामो समयदेखि स्थानीय बजार बन्द हुँदा दैनिक उपभोग्य सामग्री महँगो भएकाले किनमेलका लागि जयनगर पुगेकामध्ये दुई जनाले ज्यान गुमाएका हुन् । किनमेल गरेर घर फर्किने तर्खर गरिरहेका बेला तार झरेपछि लागेको आगोमा जलेर १० जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा अर्को मोटरसाइकल समेत जलेको छ । भारतीय प्रहरीका अनुसार विद्युतको तार खसेर भारतीय सीमावर्ती गाउँ कोरहियाका चारजना र बेलहीका चार जनाको मृत्यु भएको थियो । रासस

Previous
Next Post »