मधेसीसँग निर्णयाक वार्ता चार बजे
मधेस आन्दोलन , संविधान संशोधन, सिमांकनलगायतका विषयमा मोर्चा र तीन प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच निर्णयक छलफल हुन लागेको हो। मधेसी मोर्चा र तीन दलबीच विभिन्न चरणमा भएको अनौपचारिक छलफल सकारात्मक रहेकोले आजको वार्ता महत्वपूर्ण हुने र कुनै निश्कर्ष आउनसक्ने नेताहरुले बताएका छन्।
आजको वार्ता उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको प्रस्तावमा केन्द्रित हुनेछ। प्रचण्डकै पहलमा आज वार्ता हुन लागेको हो। प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का अनुसार अन्य नेताहरुसँग परामर्शका आधारमा चार बजेको समय निर्धारण गरिएको जानकारी दिए।
प्रचण्डले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशीको प्रतिनिधित्वसम्बन्धी विधेयकलाई मधेसी मोर्चासमेतको सहमतिमा अघि बढाउने, तराईमा दुई प्रदेश रहने गरी सिमांकनको मुद्दालाई टुंगो लगाउन मधेसी मोर्चासमेतको सर्वदलीय संयन्त्र बनाउने र विवादित जिल्लाको सिमा टुंगो लगाउने जिम्मा संघीय आयोगलाई दिने प्रस्ताव अघि सारेका छन् । यो प्रस्तावमा मधेसी मोर्चा केही सकारात्मक देखिएका छन्।
निर्णयक वार्ताअघि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा बुधबार बिहानदेखि नै जुटेका छन् । एमाओवादीको पदाधिकारी बैठक बसेको छ भने कांग्रेस वरिष्ठ नेताहरुबीच पनि अनौपचारिक छलफल भएको छ। त्यसैगरी बुधबार बिहान बालुवाटारमा पनि मधेसी मोर्चासँगको वार्ताको एजेन्डा र रणनीतिबारे छलफल भएको छ। मधेसी मोर्चाका नेताहरु पनि आन्तरिक छलफलमा व्यस्त छन्।
EmoticonEmoticon