- 18 नोभेम्बर 2015
हेनोभरस्थित रंगशालामा बम विष्फोटको खतरा रहेको भन्दै जर्मनी र नेदरल्याण्ड्सबीच मंगलबारका लागि तय भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता रद्द गरिएको छ।
हेनोभर शहरका प्रमुखका अनुसार सुरक्षासम्बन्धी खतरा देखिएपछि खेल शुरु हुनुभन्दा डेढ घण्टाअघि मानिसहरुलाई रंगशालाबाट निकालिन थालिएको थियो।
४९ हजार दर्शक अटाउन सक्ने क्षमता भएको एचडी एरिनामा हुने भनिएको मैत्रीपूर्ण खेल हेर्न जर्मन चान्सलर एंगेला मर्केल पनि जाने निश्चित थियो।
जर्मनीको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई प्रहरी सुरक्षामा राखिएको थियो।
खतरा
जर्मनीको आन्तरिक मामिलासम्बन्धी मन्त्री टोमस डु मेजयारले भने, “मेरो सुझाव अनुसार खेल रद्द गरिएको हो, जर्मनी र युरोपमाथि ठूलो स्तरको खतरा छ।”
उनले थपे, “म तपाईंहरुको प्रश्न बुझ्छु र तपाईंहरुले गर्ने अर्को प्रश्न पनि, वास्तवमा खतरा के हो र खेल किन रद्द गरियो भनेर, तर कृपया बुझ्ने प्रयास गर्नुस्, म जवाफ दिन सक्दिन।”
यसअघि बेल्जियम र स्पेनबीच ब्रसेल्समा मंगलबार नै हुने तय गरिएको मैत्रीपूर्ण खेल सोमबार रद्द गरिएको थियो।
प्यारिसमा गत साता गरिएका आक्रमणपछि उत्पन्न सुरक्षा खतराको कारण देखाउँदै उक्त खेल रद्द गरिएको अधिकारीहरुले बताएका थिए।
श्रद्धाञ्जली
वेम्बलीमा फ्रान्स र इंगल्याण्डबीचको खेल चाहिँ मंगलबार राति सम्पन्न भएको छ।
खेल शुरु हुनुअघि शुक्रबार प्यारिस आक्रमणमा मारिएका १२९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
जर्मन फुटबल लिगका अध्यक्षले खेल रद्ध हुनु फुटबलका लागि दुखद दिन भएको बताए।
लोवर साक्सोनी राज्यका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले हालसम्म कोही पक्राउ नपरेको र विष्फोटक पदार्थ पनि नभेटिएको पत्रकारहरुलाई बताएका छन्।
EmoticonEmoticon