राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एक हुँदै

२०७२ मङ्शिर ३ बिहीवार

626 पटक पढिएको

फोटो :फाइल फोटो

काठमाडौं: पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेका राप्रपाका दुई समूहबीच बिहीबार एकता हुन लागेको छ। 
 
दुवै पक्षले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गर्ने तयारी गरेका छन्।चक्रीय प्रणाालीअनुसार नेतृत्व आफूले पाउनुपर्ने भन्दै पार्टी नेता चन्दले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफैं पार्टीको आधिकारिक अध्यक्ष भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए।

तर लामो छलफलपछि निर्वाचन आयोगले फैसला सुनाउनुअघि नै दुवै पक्षको केन्द्रीय समिति बैठक राखेर अध्यक्ष राणाले राजीनामा घोषणा गर्ने सहमति भएको एक नेताले बताए।
 
सहमतिअनुसार नेता चन्दले बिहीबारै निर्वाचन आयोगमा गएर आफूले हालेको निवेदन फिर्ता लिने भएका छन्। त्यसपछि दुवै पक्षको संयुक्त केन्द्रीय समितिको बैठकले राणाको राजीनामा स्वीकृत गरेलगत्तै चन्दलाई नयाँ अध्यक्ष घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ। 
 
सहमतिअनुसार नेता चन्दले आठ महिना नेतृत्व गरेपछि फेरि राणालाई अध्यक्ष हस्तान्तरण गर्नेछन्। त्यसपछि राणाले पनि आठ महिना नेतृत्व गर्नेछन्। राणाले अर्का नेता डा. प्रकाशचन्द्र लोहनीलाई बाँकी आठ महिना नेतृत्व हस्तान्तरण गर्ने छन्। त्यसपछि पार्टीको दोस्रो महाधिवेशन आयोजना हुनेछ।
 
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राष्ट्रिय जनशक्ति पार्टी र राणाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच दुई वर्षअघि एकता भएको थियो। नेतृत्वका लागि महाधिवेशनमा नै विवाद भएपछि थापा, चन्द, राणा र लोहनीले क्रमशः चक्रीय हिसाबमा नेतृत्व गर्ने सहमति भएको थियो।
 
२०७१ जेठ २५ गते तत्कालीन अध्यक्ष थापाले राजीनामा दिएपछि केन्द्रीय समिति बैठकले राणालाई अध्यक्ष चयन गरेको थियो। त्यसपछि चन्द पक्षले असन्तुष्टि जनाउँदै अलग्गै गतिविधि गर्दै आएको थियो।
 
राप्रपाका प्रवक्ता ठाकुर शर्माले दुवै पक्षबाट बिहीबार बिहान संयुक्त पत्रकार सम्म्मेलन आयोजना गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमार्फत घोषणा गर्ने कार्यक्रम रहेकाले पार्टीका नेताहरूले एकताको औपचारिक जानकारी गराएका छैनन्। 
 
स्रोतका अनुसार नेता डा. लोहनीले यो प्रक्रियामा केही असहमति राखेका छन्। उनले चन्दपछिको नेतृत्व आफूले गर्न पाउनुपर्ने भन्दै असन्तुष्टि राखेको एक नेताले बताए।
 
एकताका लागि दबाब अभियान सञ्चालन गरेका केन्द्रीय सदस्य राजेश गिरीले केही समयपहिला नेताहरु विभाजन हुँदा खोसिएको खुसी अब फिर्ता हुने बताए। उनले भने, 'पार्टी विभाजन हुँदासबैभन्दा पीडा दोस्रो पुस्तालाई हुन्छ, किनभने उनीहरुको भविष्य बलियो पार्टीमा गएर जोडिएको हुन्छ, त्यसैले एकताको खबरले उत्साह ल्याएको छ।'

Previous
Next Post »