इन्डक्सन चुलोको माग ह्वात्तै बढ्यो



  • इन्डक्सन चुलोको माग ह्वात्तै बढ्यो
काठमाडौ-दुई महिनादेखि भारतले लगाइरहेको नाकाबन्दीले ग्यास लगायत अत्यावश्यक सामान अभाव भए पनि बजारमा इन्डक्सन चुलो जस्ता विद्युतीय सामान आइरहेका छन् । नाकाबन्दीले इन्धन अभाव विकराल बनेर सरकारले दाउरा बेच्न सुरु गरेकै बेला इन्डक्सन चुलोको व्यापार भने ह्वात्तै बढेको छ ।

अरु बेला खासै बिक्री नहुने यस्तो चुलोबाट यसपालि राम्रै कमाइ भइरहेको व्यवसायीको भनाइ छ । अघिल्लो वर्षको तुलनामा इन्डक्सन चुलोको व्यापार शतप्रतिशत बढेको व्यवसायीले बताए । 'यसको माग अत्यधिक बढेको छ,' मेरो सपिङ डट कमका सिइओ, 'सिताराम रिमालले भने, 'पहिला धेरैलाई यसको नामै थाहा थिएन । अहिले धेरै बिक्री भइरहेको छ ।'

नाकाबन्दीले बजारमा धेरै सामानको अभाव रहे पनि इन्डक्सन चुलो जताततै पाइन्छ । नाकाबन्दीले इन्डक्सन आयात नरोकेकै हो त ? जवाफमा रिमाल भन्छन्, 'कहिलेकहीँ खुल्ने नाकाबाट केही मात्रामा इन्डक्सन चुलो आइरहेको छ । इन्धनमा कडाइ गरे पनि यस्ता सामान भने केही मात्रामा छिरेका छन् । हामीले त्यही बेचिरहेका छौं ।'

नाका व्यापारका जानाकार भने अहिले नेपाल–भारत सीमामा अवैध व्यापार फस्टाइरहेको बताउँछन् । नाकाबन्दीले भन्सार नाकाबाट आउने सामान रोके पनि अवैध बाटोबाट सामान आइरहेको उनीहरूको भनाइ छ । बजारमा अहिले अत्याधिक बिक्री भइरहेका इन्डक्सन चुलो, इन्धन जस्ता सामान चोर बाटोबाट आइरहेको उनीहरुको भनाइ छ ।

नेपाल र भारतबीच झन्डै १ हजार ८ सय किलोमिटर लामो खुला सीमा छ । यसमा ६ वटा मुख्य भन्सार नाका छन् । भन्सार नाका रोकिए पनि अन्य नाकाबाट सामान आइरहेका छन् ।

लामो आन्दोलन र नाकाबन्दीले उद्योगधन्दा बन्द भएर लोडसेडिङ कम हुँदा विद्युतीय सामानको बिक्री बढेको छ । हिटर लगायत अन्य विद्युतीय उपकरणभन्दा इन्डक्सन चलाउन सजिलो र छिटो पाक्ने भएकाले यसको प्रयोग बढेको हो । बजारमा बजाज, पिजन, प्रेस्टिज, सूर्यलगायत कम्पनीका चुलो बिक्री भइरहेको रिमालले बताए । 'यिनको मूल्य ३ हजार ५ सयदेखि १६ हजार ५ सयसम्म छ,' रिमालले भने, 'पहिलेभन्दा १ हजार रुपैयाँसम्म बढेको छ ।' अहिले भन्सार झन्झटिलो, धेरै समय लाग्ने भएकाले मूल्य बढेको रिमालले बताए ।

सरकारी तथ्यांकअनुसार अहिलेको बजार माग कानुनी रुपमा भएको आयातले धान्ने देखिँदैन । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा झन्डै २५ हजारवटा इन्डक्सन चुलो आयात भएको छ ।

दुई शीर्षकमा यो आयात भएको छ । 'इन्डक्सन एन्ड डाइलेक्ट्रिक हिटिङ इक्विपमेन्ट' शीर्षकमा भारत, चीन र अमेरिकाबाट २४ हजार ९ सय ८८ वटा आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । चीनबाट सबैभन्दा धेरै २४ हजार ५ सय ७२ वटा ल्याइएको छ । इन्डक्सन चुलो आयातका लागि ४८ लाख १७ हजार १ सय २५ रुपैयाँ बाहिरिएको छ ।

'इन्डक्सन अर डाइलेक्ट्रिक फरनान्स एन्ड ओभन' शीर्षकमा ७ सय ४६ वटा आयात भएको देखिन्छ । यो चीनबाट दुई र बाँकी भारतबाट आएको छ । ७ सय ४६ वटालाई ५ करोड ८६ लाख ५७ हजार रुपैयाँ तिरिएको तथ्यांकमा उल्लेख छ ।

ग्यास अभावमा विकल्पका रुपमा इन्डक्सन चुलो प्रयोग भइरहेको केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए । 'ग्यासको विकल्प इन्डक्सन चुलो प्रयोग गर्दा समस्या घटाउन सकिन्छ,' बजगाईंले भने, 'यो अरु बेला पनि राम्रो विकल्प हो ।'

केन्द्रको तथ्यांकअनुसार ७ करोड ६४ लाख १९ हजार रुपैयाँमा ११ हजार ३ सय ८० वटा माइक्रो ओभन आयात भएको छ । भारत, चीन लगायत १७ वटा देशबाट माइक्रो ओभन ल्याइएको छ । विभिन्न १५ वटा देशबाट १८ हजार २ सय ६७ वटा कफी र टी–मेकर आएको तथ्यांक छ । टोस्टर्स्, रेसिस्टेन्स हिटेड फरनान्स एन्ड ओभन २३ हजार ६ सय ६२, इलेक्ट्रिक फरनान्स एन्ड ओभन ७ सय १३ वटा आएको सरकारी तथ्यांकमा छ ।

Previous
Next Post »