निगमकै साँठगाँठमा कालोबजारी
काठमाडौं-भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ । पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपोप्रमुखदेखि राजनीतिक नेतृत्व तहसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ ।
'निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ,' एक उद्योगीले नागरिकसँग भने ।
निगमले इन्धनको चरम संकट देखाउँदै गत बिहीबार (कात्तिक २६ देखि ३० गते) देखि पछिल्ला पाँच दिनमा भारतबाट पेट्रोल र डिजेल बोकेका करिब ३ सय ट्यांकर काठमाडौं भित्रायाएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल सामान्य अवस्थामा नियमसंगत ढंगले बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो ।
निगमले आफ्नै संलग्नतामा संस्थागत रूपमै कालोबजारी गरी प्रतिट्यांकर औसत १५ लाख रुपैयाँसम्म कुम्ल्याइरहेको तथ्य खुलेको छ । सम्बद्ध व्यवसायीका अनुसार सामान्य दिनमा २० हजार लिटरको एक ट्यांकर पेट्रोलको मूल्य २० लाख ८० हजार रुपैयाँ पर्छ भने त्यत्ति नै परिमाणको डिजेलको मूल्य १६ लाख २० हजार ।
त्यसरी आएको तेल निगमका उच्च अधिकारीहरूले आफ्ना आसेपासे, नातागोताका पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महँगोमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार अहिले प्रतिट्यांकर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ । उपभोक्ता बाध्य भएर कालोबजारमा पेट्रोल प्रतिलिटर औसतमा ४ सय ५० र डिजेल ४ सय रुपैयाँसम्ममा पम्पबाटै किनिरहेका छन् ।
स्रोतका अनुसार सम्बन्धित कालोबजारीसँग कुरा मिलेपछि पेट्रोल पम्पमा बिहानै वा रातिराति मात्र महँगो मूल्यमा तेल बेच्ने गरिएको उपभोक्ताको गुनासो आए पनि आयल निगम भने कानमा तेल हालेर बसेको छ ।
एक ट्यांकर डिजेल २६ लाख तिरेर आफ्नो उद्योगमा ल्याउनुपरेको बाध्यता सुनाउँदै एक व्यापारीले भने, 'सरकार र निगम नै सहज आपूर्ति नहोस् र आएको तेल महँगो मूल्यमा बेचेर मोटो रकम कुम्ल्याउन पाइयोस् भन्नेमा छन् ।'
व्यवसायीले भनेको कुरालाई केही दिनअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आयोजना गरेको पत्रकार सम्मेलनले पनि थप पुष्टि गर्छ । भारतले अघोषित नाकाबन्दी गरे पनि विभिन्न नाकाबाट छिटफुट रूपमा तेल आइरहेको छ । खड्काले भने एक थोपा पनि तेल नआएको भन्दै कालोबजारीलाई प्रश्रय दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
निगमले आपूर्ति व्यवस्था सहज बनाउन छाडेर कालोबजारीलाई प्रोत्साहन गरेको पनि उद्योगीहरूको आरोप छ । आपूर्ति असहज भएको बहानामा बजारमा कालोबजारी भइरहँदा पनि प्रशासन भने मौन रहेको उद्योगी नै बताउँछन् ।
एकातिर उद्योगी व्यापारीले महँगो मूल्यमा तेल किन्नु र अर्कोतर्फ निगमका अधिकारीले एक थोपै तेल नआएको भन्दै हिँड्नुले पनि बजारमा कालोबजारीमा तेल कारोबार भइरहेको पुष्टि गर्छ । पछिल्लो केही दिनयता बजारमा सार्वजनिक यातायात मात्रै नभई निजी सवारीसाधनसमेत ठूलो संख्यामा चलेका छन् । 'तेल नआएको भए ती सवारीसाधन कसरी चलेका छन् त ?' उद्योगीले प्रश्न गरे ।
निगमका उच्च अधिकारीले संकटको बहानामा अहिलेसम्म ठूलो रकम कुम्ल्याइसकेका छन् । तिहारपछि हालसम्म पनि ठूलो संख्यामा इन्धनका गाडी काठमाडौं भित्रिएका छन् । तर, तेल न निजी पम्पले पाएका छन् न सरकारी पम्पले । आफूलाई मन लागेका पम्पलाई तेल दिएर कालोबजारीमा धमाधम बिक्री भइरहेको छ ।
कार्यकारी निर्देशक खड्का आफैं कालोबजारीमा सक्रिय रहेको व्यापारी बताउँछन् । पश्चिमको गौरीफन्टा, पूर्वका काँकडभिट्टाबाहेक पनि अन्य विभिन्न नाकाबाट सामान्य अवस्थामा जस्तो नियमित नभए पनि तेल आइरहेको छ । निगमले काठमाडौंमा कति तेल आयो र कसरी वितरण भयो, त्यसको तथ्यांक सार्वजनिक गर्नसमेत आनाकानी गरिरहेको छ । स्रोतका अनुसार सरकारी अधिकारीको मिलेमतोका कारण पम्पले प्रतिलिटर ५ सय रुपैयाँसम्ममा बिक्री गर्दा पनि अनुगमनकारीको ध्यान जान सकेको छैन ।
EmoticonEmoticon