प्यारिस आक्रमण: एक हमलाकारीको पहिचान


  • 17 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightGetty
Image captionफ्रान्समा तीन दिने राष्ट्रिय शोक मनाइदैँछ
प्यारिसमा १२९ जनाको ज्यान जाने गरी भएको आक्रमणको अनुसन्धान जारी रहँदा मृत सात जना हमलाकारीमध्ये एक जनाको पहिचान गरिएको अधिकारीहरुले बताएका छन्।
पहिचान गरिएका आक्रमणकारी अल्जेरियाली मूलका २९ वर्षिय फ्रेन्च नागरिक ओमार इस्माइली मुस्तफाइ रहेको विवरणहरुमा जनाइएको छ।
उक्त श्रृखंलावद्ध गोली र बम हमलाका साथै केहीलाई बन्धक बनाइएको घटनामा ३ सय ५० जना घाइते भएका थिए।
प्रहरीले दुईवटा रेस्टुराँमा गरिएको आक्रमणमा प्रयोग भएको आशंका गरिएको कालो सिट भएको कार फेला परेको बताएको छ।

शोक

शुक्रबारको उक्त हमलापछि फ्रान्सले तीन दिने राष्ट्रिय शोक मनाइरहेको छ।
Image copyrightGetty
प्यारिसको नोत्रडाम कथिड्रलमा मृतकको सम्झना तथा घाइतेको स्वास्थ लाभको कामनामा विशेष प्रार्थना सभा गरिदैँछ।
इस्लामिक स्टेटले जिम्मा लिएको उक्त आक्रमणका क्रममा फ्रान्सको राजधानीस्थित कन्सर्ट हल, एउटा रंगशाला, रेस्टुराँ तथा बारलाई निशाना बनाइएको थियो।
प्रधानमन्त्री म्यानुअल भाल्सले इस्लामिक स्टेट आफ्नो संगठित दुश्मन रहेको भन्दै सिरियाका उसका ठेगानाहरुमाथिको आक्रमणलाई फ्रान्सले निरन्तरता दिने बताए।
राष्ट्रपति फ्रांस्वा ओलन्डले टर्कीमा भइरहेको औद्योगिक राष्ट्रहरुको जी ट्वान्टी सम्मेलनमा सहभागी हुने कार्यक्रम स्थगित गरी देशभित्रै पछिल्लो संकटबारे विभिन्न नेताहरुसँग परामर्श गरिरहेका छन्।

पहिचान

झन्डै ८० जना मारिएको बाटाक्लं थिएटरमा अनुसन्धनकर्ताले फेला पारेको औँलाको टुक्राका आधारमा मुस्तफाइको पहिचान गरिएको बताइएको छ।
उनी प्यारिसभन्दा २५ किलोमिटर दक्षिणमा रहेको कुरकुरोनबाट आएका हुन्।
एक जना स्थानीय जनप्रतिनिधिका अनुसार उनी प्यारिसभन्दा १०० किलो मिटर दक्षिण पश्चिममा रहेको सार्च भन्ने ठाउँमा सन् २०१२ सम्म बसेका थिए।
उक्त शहर नजिकै पर्ने लुसस्थित मस्जिदमा उनी निरन्तर सहभागी हुने गरेको बताइन्छ।
समाचारहरुमा जनाइए अनुसार सामान्य खालका अपराधमा संलग्न भएको पृष्ठभूमि भए पनि उनी कहिल्यै पनि जेलमा बसेका थिएनन्।
सुरक्षा निकायहरुले सन् २०१० मा उनी कट्टरपन्थी बनेको आशंका गरेपनि मुस्तफाइमाथि कहिल्यै पनि आतंकवादमा संलग्न भएको आशंकामा छानविन नगरिएको बुझिन्छ।
Image copyrightBBC Chinese
प्रहरीले उनी सन् २०१४ मा सिरिया गए, नगएको छुट्याउन खोजिरहेको बताइएको छ।
प्रहरीले गिरफ्तार गरेको भनिएका मुस्तफाइ निकट ६ जना मध्ये उनका पिता, भाइ र बहिनी ज्वाइ पनि रहेका छन्।
“त्यो पागलपन थियो, गएराति म आफैं प्यारिसमा थिए र मैले त्यहाँको बर्बादी देखेको छु,” शनिबार आफैं प्रहरी चौकी जानुअघि उनका दाइले फ्रान्सेली समाचारसंस्था एएफपीसँग भने।
आफ्ना भाइले परिवारसँग वर्षौयता सम्पर्क नगरेको भन्दै उनले उ कट्टरपन्थी गतिविधिमा संलग्न भएको थाहा पाउँदा आफू आश्चर्यचकित भएको बताए।

अनुसन्धान

यसैबीच प्रहरीले रेस्टुराँहरुमाथि भएका आक्रमणमा बन्दुकधारीहरुले प्रयोग गरेको आशंका गरिएको एउटा कार मोङट्रोइमा फेला परेको जनाएको छ।
सञ्चारमाध्यमहरुका अनुसार उक्त कारमा हतियार पनि भेटिएको छ।
प्यारिसमा रहेका बीबीसीका सम्वाददाता भन्छन्, उक्त कार फेला परेसँगै केही बन्दुकधारीहरु हमला गरेर भाग्न सफल भएको भन्ने दावी सत्यको नजिक रहेको जस्तो देखिन्छ।
बेल्जियममा शनिबार गिरफ्तार गरिएका तीन जना व्यक्तिलाई पनि अनुसन्धानको घेरामा राखिएको छ।
प्रत्यक्षदर्शीहरुले केही आक्रमणकारी बेल्जियमको नम्बर प्लेटको कारमा चढेर आएको बताएका थिए।
Previous
Next Post »