इतिहास रच्दै शीतलनिवासमा
- 28 अक्टोबर 2015
राजनीतिक यात्रा थालेको झण्डै चालीस वर्ष पुग्दै गर्दा एमाले नेतृ विद्या भण्डारीले मुलुककै सर्वोच्च पदमा पुग्ने पहिलो निर्वाचित महिलाको इतिहास रच्न सफल भएकी छन्।
यो इतिहास रच्दै गर्दा नयां संविधानपछिको पहिलो राष्ट्रप्रमुखका रुपमा उनीसामु संविधानको कार्यान्वयनमा अभिभावकीय भूमिका निर्वाह गर्ने लगायतका जटील चुनौती रहेको ठानिएको छ।
यात्रा
१७ वर्षे किशोरअवस्थामै तत्कालीन नेकपा मालेबाट राजनीतिक यात्रा थालेकी विद्या भण्डारी झण्डै चार दशकको आरोहअवरोह हुंदै शीतलनिवासमा आसीन हुने भएकी छिन्।
नेपाली कम्युनिष्ट राजनीतिका चर्चित हस्ती मदन भण्डारीसंग विवाह बन्धनमा बाँधिएपछि केही वर्ष सक्रिय राजनीतिबाट टाढिएकी उनलाई विक्रम सम्वत् २०५० मा जीप दुर्घटनामा पतिको मृत्यु भएको वियोगले फेरि राजनीतिमा फर्कन वाध्य पा-यो।
त्यसै वर्ष भएको उपनिर्वाचनमा उनले त्यतिबेलाका अर्का हस्ती कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर राजनीतिक वृत्तमा चर्चा बटुलिन्।
योसंगै एकवर्षपछिको आमचुनावमा अर्का चर्चित अनुहार दमननाथ ढुंगानालाई पाखा लगाउंदा उनको जीतलाई धेरैले पतिवियोगप्रति दर्शाइएको ममताका रुपमा अर्थाए।
तर त्यसपछि उनले उक्लिएको राजनीतिक भ-याङग उनकै कठीन परिश्रम र क्षमताको प्रतिविम्ब भएको ठान्नेहरुको पनि कमी छैन।
चुनौती
आफ्नो पार्टी एमालेभित्र पनि उपाध्यक्षजस्तो उच्च ओहोदामा पुग्न सफल भण्डारीका लागि प्रधानमन्त्रीय दौडमा कांग्रेस प्रमुख तीन दलको गठवन्धनबाट बाहिरिएपछि राष्ट्रप्रमुखको ढोका एकाएक सहज बनेको देखियो।
प्रमुख दलबीच भएको भनिएको भद्र सहमति कांग्रेसले तोडेको भन्दै उसलाई दिने भनिएको राष्ट्रपति पद आफैले राख्ने निचोडमा एमाले पुगेपछि पार्टीभित्रका समकालीनमात्रै होइन अग्रजहरुलाई समेत पन्छ्याउंदै भण्डारी प्रत्यासी बन्न सफल भइन्।
कुनै बेला माओवादीको कटु आलोचकको छवि बनाएकी भण्डारी अन्तत: सोही दलकै महत्वपूर्ण समर्थनमा शीतल निवासमा आसीन हुन लागेकी छन्।
उनको शीतलनिवास यात्रा जति सहज देखिन्छ त्योभन्दा विपरित नयां संविधान अन्तर्गत संघीयताको कार्यान्वयन जस्ता जटील पक्षको कार्यान्वयनमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चुनौती छ।
कुनै बेला तराई र काठमाण्डूबीच दूरी बढैकै बेला राष्ट्रप्रमुख बन्न पुगेका वर्तमान राष्ट्रपति रामवरण यादवले त्यो तिक्तता मेटाउन प्रशंसनीय भूमिका खेलेको भन्ने टिप्पणीहरुमाझ अहिलेको विभाजित राजनीतिमा भण्डारीलाई सबैको चित्त बुझाउंदै राष्ट्रपतिको दायरामा बस्न सहज भने हुनेछैन।
EmoticonEmoticon