‘प्यारिसमा तीन समूहद्वारा आक्रमण’‘प्यारिसमा तीन समूहद्वारा आक्रमण’


  • 17 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightBBC Chinese
Image captionप्यारिसमा शु्क्रबार गरिएको आक्रमणको कठोर जवाफ दिइने राष्ट्रपति फ्रांस्वा ओलाण्डले बताएका छन्
फ्रान्सका प्रमुख अभियोजनकर्ताले आक्रमणकारीहरुको तीनवटा समूहले शुक्रबार राति राजधानी प्यारिसमा हमला गरेको बताएका छन्।
अधिकारीहरुका अनुसार आक्रमणमा मृत्यु हुनेको संख्या १२९ पुगेको छ भने ३५० जनाभन्दा बढी घाइते भएका छन्।
फ्रान्सका प्रमुख अभियोजनकर्ता फ्रांस्वा मोलाङ्गले सातजना आक्रमणकारीहरु पनि मारिएको बताए।
उनीहरुसँग भारी हतियार भएको र आत्मघाती विष्फोट गराउने पेटी लगाएको उनले जनाए।

‘बर्बरतापूर्ण’

शनिबार साँझ प्यारिसमा बोल्दै मोलाङ्गले भने, “यो बर्बरतापूर्ण आक्रमण पछाडि संभवत आतंकवादीहरुको तीनवटा सुनियोजित समूह थियो, उनीहरु कहाँबाट आएका थिए र आक्रमणका लागि आवश्यक रकम उनीहरुले कसरी जुटाएका थिए, हामीले त्यो पत्ता लगाउनुपर्नेछ।”
इस्लामिक स्टेट लडाकु समूहले जिम्मेवारी दावी गरेको शुक्रबारको आक्रमणमा एउटा कन्सर्ट हल, एउटा महत्वपूर्ण रंगशाला, रेष्टुराँ र बारहरुलाई निशाना बनाइएको थियो।
मोलाङ्गले बेल्जियममा शनिबार गरिएको तीनजनाको गिरफ्तारी प्यारिस आक्रमणसँग सम्बन्धित भएको बताए।
मोलाङ्गले मारिएका आक्रमणकारीहरुमध्ये एकजना फ्रान्सेली नागरिक भएको पहिचान गरिएको र उनको अपराधिक पृष्ठभूमि भएपनि कहिल्यै जेल नगएको बताए।
Image copyrightGetty
Image captionप्यारिस आक्रमणपछि फ्रान्समा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको बताइएको छ
अभियोजनकर्ताहरुले उनका परिवारजनलाई गिरफ्तार गरिएको र घरको खानतलासी भईरहेको बताएका छन्।

‘राष्ट्रिय शोक’

प्यारिसमा मारिएको एकजना बन्दुकधारी नजिकै भेटिएको सिरियाली पासपोर्ट गत महिना ग्रीसमा दर्ता भएको ग्रीक सरकारले बताएको छ।
उक्त पासपोर्ट टर्कीको तट नजिकैको लेराँस टापुमा दर्ता भएको थियो।
कुनै बन्दुकधारी ग्रीस हुँदै युरोप छिरेका थिए कि? भनेर अनुसन्धान भइरहेको छ।
यो वर्ष मात्रै पाँच लाखभन्दा बढी शरणार्थी र आप्रवासीहरु टर्की हुँदै ग्रीस प्रवेश गरेको र तीमध्ये धेरै सिरियाली रहेको बताइएको छ।
फ्रान्समा तीनदिने राष्ट्रिय शोक जारी छ।
प्यारिसबासीहरुले रक्तदान गर्न घण्टौं लाइनमा बसेका छन्।
देशैभर थप सिपाही र प्रहरी तैनाथ गरिएको छ।
Previous
Next Post »