इन्धन संकटले वन विनाशको खतरा


शेयर गर्नुहोस्
Image captionनेपाल भारत सीमा नाकामा गाडिहरु रोकिएपछि विशेषगरि देशैभर इन्धन संकट गहिरिएको छ
इन्धन संकटका कारण एकाएक बढेको दाउराको मागले नेपालको विश्वप्रसिद्ध सामुदायिक बन मासिने खतरा बढेको अधिकारीहरुले बताएका छन्।
नेपाल भारत सीमा नाकामा भएको अवरोधले नेपालमा अहिले इन्धन आयात निकै सुस्त भइरहेको छ।
नयाँ संविधानले पर्याप्त रुपमा आफ्नो प्रतिनिधित्व नगरेको भन्दै दक्षिणी नाकाको समथर क्षेत्रका समुदायहरु अहिले आन्दोलित छन्।
आन्दोलनका क्रममा कम्तीमा ४० जनाको ज्यान गएको छ भने भारतसँगको सीमा नाकामा सैयौं मालबाहक सामानका गाडीहरु थन्किएका छन्।

दबाब

भूपरिवेष्ठित मुलुक नेपाल भारतसँग इन्धन, खानेकुरा र औषधी आयातमा पूर्णरुपमा निर्भर छ।
गएको दुई साता भन्दा बढी समयदेखि आपूर्ति अवरुद्ध छ।
संरक्षणविद्हरु नेपालमा वन जोगाउने परम्परा भए पनि इन्धन संकटका कारण मानिसहरुसंग रुख काटेर दाउरा बाल्ने बाहेक अरु विकल्प नभएको बताउँछन्।
देशभरिका सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्कीले खाना पकाउने ग्याँस र मट्टितेल नभएपछि दाउराको माग बढेको र वनजङ्गलमाथि दबाब बढेको बताए।
उनले भने, “हामीलाई विभिन्न सामुदायिक वनहरुबाट त्यहाँ मानिसहरु वनमा प्रवेश गरेर दाउराहरु बटुल्न र रुख काट्न थालेको खबरहरु आएका छन्।”
सामुदायिक वन संरक्षण र व्यवस्थापनमा नेपाल विश्वमै अग्रणी मानिन्छ जहाँ स्थानीय वासिन्दाहरु आफैले वन संरक्षकको रुपमा काम गर्छन्।
नेपालमा देशभर १५ हजार सामुदायिक वनहरु छन् भने २० वटा राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र छन्।
दक्षिणी जिल्ला रौतहटमा समुदायका सदस्यहरुले गैरकानुनी रुपमा दाउरा संकलन गरिरहेका १ सय ५० वटा साइकलहरु जफत गरेका छन्।
Previous
Next Post »