भारतीय प्रधानमन्त्री कार्यालयले सोध्यो- वेलायतमा नेपालीको प्रभाव कति छ?

माेदीविरूद्ध लन्डनमा प्रदर्शन गर्दै नेपालीहरू। तस्विर: चिरन शर्मामाेदीविरूद्ध लन्डनमा प्रदर्शन गर्दै नेपालीहरू। 
काठमाडौं— वेलायत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै सुन्ने गरी नेपालीहरुले 'ब्याकअफ इन्डिया' र 'रिमुभ ब्लकेड'को नारा लगाएपछि भारतीय प्रधानमन्त्री कार्यालयले सोबारे चासो देखाएको छ।
भारतीय प्रधानमन्त्री कार्यालयले लन्डन स्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई वेलायतमा नेपालीको प्रभाव कति छ भनेर सोधेको हो। 'लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ', शनिबार अंग्रेजी दैनिक इन्डियन एक्स्प्रेसले लेखेको छ।

मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शन देखेर भारतीय प्रतिनिधिमण्डल छक्क परेको उच्चायुक्त कर्मचारीलाई उदृत गर्दै सो पत्रिकाले उल्लेख गरेको छ।

भारतीय प्रधानमन्त्री मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए। लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए।

मोदीसँगै रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलले ब्याकअफ इन्डिया र रिमुभ ब्लकेड, मोदी नट वेलकम नारा लगाइरहेकाहरुलाई नजिकबाटै देखेका थिए।

नेपालीको प्रदर्शनसँगै भारत सरकारसँग असन्तुष्ट भारतीय शिखहरुले पनि मोदीविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले मोदीलाई रातो कार्पेट विछ्याएकोमा आलोचना गर्दै नेपालविरुद्धको नाकाबन्दी तत्काल हटाउन दवाब दिन वेलायती प्रधानमन्त्री क्यामरुनलाई आग्रह गरेका थिए।

'गुजरात घटनाका कारण शिखहरुको प्रदर्शन अपेक्षित नै थियो। नेपालीको प्रदर्शनले हामीलाई चकित तुल्याएको छ। हाइ कमिसनले यससम्बन्धी एउटा प्रतिवेदन छिटै पठाउँदैछ', स्रोतलाई उदृत गर्दै सो पत्रिकाले लेखेको छ।

वेलायत स्थित गैरआवासीय नेपाली संघ लगायत करिब चार दर्जन संघसंस्थाको सक्रियामा भारतीय नाकाबन्दीप्रति विरोध जनाउन मोदीविरुद्ध प्रदर्शन भएको थियो।
यसरी भएकाे थियाे प्रदर्शन- भिडियाे

Previous
Next Post »