ओलीसामु चुनौतीको चाङ

ओलीसामु चुनौतीको चाङ

  • 11 अक्टोबर 2015
शेयर गर्नुहोस्
Image copyrightbikash karki
Image captionनवनिर्वाचित प्रधानमन्त्री ओलीले सोमबार १ बजे शपथ लिने समय तय भएको छ
आफ्नो राजनीतिक यात्राको पचासौं वर्षमा टेक्दै गर्दा सत्ताको बागडोर सम्हाल्ने मौका पाएका एमाले अध्यक्ष ओली जति सहज ढंगले आइतबार निर्वाचित भए, उनको अगाडिको बाटो भने त्यसको ठीक विपरित कठीन चुनौतीहरुले भरिएको देखिन्छ।
तराई तनाव र रुष्ट छिमेकी जस्ता प्रतिकूलतामात्रै होइन परस्पर विरोधी सिद्धान्त र मुद्दा बोकेका दलको बलमा खडा भएको उनको सत्ताको स्थायित्व पनि चुनौतीविहीन रहेको आभास हुंदैन।
तर समकालीनहरुमध्ये खरो नेताको छवि बनाएका ओलीका प्रशंसकहरु त्यस्ता चुनौतीलाई अनुकूलतमा बदल्ने राजनीतिक चतुर्याइं उनीमा रहेको ठान्छन्।
दोस्रो संविधानसभा चुनावलगत्तै कांग्रेससित सत्तासाझेदारी भएसंगै, संविधान घोषणापछि सिंहदरबारमा आसीन हुने ओलीको प्रकट आकांक्षाले झण्डै दुई वर्षमा आइतबार बल्ल विधिवत् आकार लिएको छ।

कठिन

तर संविधान घोषणासम्मको निकट सहयात्री कांग्रेसले अन्तिम घडीमा साथ नदिएपछि झण्डै डेढ दर्जन दलको समर्थनमा ओलीले सत्ता सुनिश्चित गरेका छन्।
त्यसलाई कायम राखिरहन यी सबैलाई नभए पनि कम्तीमा प्रमुख तीन गठवन्धकारीलाई उनले चित्त बुझाउनुपर्नेछ जुन महत्वपूर्ण पदकै बांडफांडको मोलतोल वरपर घुम्ने प्रष्ट देखिन्छ।
गठवन्धकारीहरुले पछिल्लो भारतीय सक्रियताको जवाफको रुपमा आफ्नो एकतालाई व्याख्या गर्ने कोसिस त गरेका छन् तर रुष्ट छिमेकीसंग कूटनीतिक सन्तुलन मिलाउनु ओलीसामुन्ने तुरुन्तै आउने प्रमुख चुनौती हुनेछ।
अनौठो संयोग चाहि के परेको छ भने महाकाली सन्धि यता दिल्ली निकटवर्तीको पगेरी गुथाइएका ओली अहिले सत्तारोहण हुंदा भारतविरोधी कित्तामा उभ्याइएका छन्।
Image copyrightrawjendra kc
उसले प्रत्यक्ष सरोकार देखाएको तराई तनावको हल गर्न पनि ओलीलाई फलामको चिउरा चपाएसरह हुने धेरैको आकलन छ।
एकातिर असन्तुष्टपक्षमाझ तराईविरोधी उनको छवि र अर्कोतिर उनीहरुका माग सम्बोधन भइहाले कांग्रेसको साथ विना संविधान संशोधनका लागि दुई तिहाइ नपुग्ने अवस्थाले गर्दा यी दुवैलाई ओलीले विश्वासमा लिनुपर्ने चुनौती छ।

चिन्ता

२०२७ को उग्र झापा विद्रोहबाट कम्युनिष्ट राजनीतिमा परिचित नाम बनेका ओलीलाई पछिल्लो राजनीतिक जीवनमा विरोधीहरुप्रति अनुदार र गुटको संरक्षण गर्ने नेताका रुपमा कतिपयले हेर्छन्।
त्यस्तो धारणाले आपसी अविश्वास मेट्ने प्रयासमा वाधा पुर्याउन सक्ने चिन्ता पनि सुनिएका छन्।
तर धेरैमाझ आफ्नो अडानमा हतपती नडगमगाउने नेताका रुपमा प्रंशसित ओली, उनले भनेजस्तै असन्तुष्ट पक्षलाई समेट्न कतिको लचिलो होलान् त्यसले नै संविधानको कार्यान्वयन र नेपाली राजनीतिको आगामी बाटोको सहजता निर्धारण गर्नेछ।
अर्को चाहिँ, ओली आफैलाई दाग लागेको जस्तो नदेखिए पनि उनले पूर्ववर्ती सरकारमा पठाएका मन्त्रीहरु भ्रष्टाचारमा मुछिएका बेला उनले आइतबार दिएको सुशासन र विकासको वचन कतिको पूरा होला, धेरैले चासोपूर्वक हेर्नेछन्।
तर परीक्षण हुन बांकी नै रहेकाले यसमा त उनले शंकाको सुविधा पाउलान् नै यद्यपि देशले भोगेको पछिल्लो राजनीतिक संकट समाधानमा विफल हुन भने उनलाई धेरै ठाउं हुनेछैन।
Previous
Next Post »