छठका लागि सजिए घाट
18 Nov 2015 | 08:28am
काठमाडौं-मंगलबार छठको साझियाँ घाटको पूजाका लागि उपत्यकाका नदी किनारमा छठी माईको पूजाका लागि घाट सिँगार्ने काममा भक्तजनहरु व्यस्त छन् । कालिमाटीमा रौनियार सेवक समाज, रौनियार महिला समाज र रौनियार युवक समाज तथा महानगरपालिकाको पहलमा सरसफाई कार्य सम्पन्न भयो ।
साँझपख घाटमा टेन्ट हाल्ने, बत्ति हाल्ने, गेट बनाउने तथा मंगलमा घाटमा पूजा गर्न आउने ब्रतालु र भक्तजनहरुलाई पूजा गर्न सहज बनाउने कार्यमा रौनियार सेवक समाजका सदस्य सन्तोष रौनियार व्यस्त देखिन्थे ।
'गत वर्ष भक्तजनहरुको भीड व्यवस्थापन गर्न नसक्दा पूजा गर्ने ब्रतालुहरुलाई सूर्य देवलाई अर्घ दिन असहज भएकाले यस वर्ष हामीले त्यो गल्ती सुधार्दै चुस्त व्यवस्थापनमा जोड दिएका छौं,' रौनियारले नागरिकसँग भने, 'छठ पूजा व्यवस्थापन गर्न कालिमाटी वडा प्रहरी कार्यालय र स्वयंसेवक परिचालन हुनेछन् ।'
रानी पोखरीमा यसपाला छठ व्यवस्थापनको जिम्मेवारी सरकारले नै लिएर सबै तयारी गरिसकेको छ । घाटमा सरसफाई गरी झिलिमिली बत्तीले घाट सिँगार्दै गरेका महानगरपालिकाका नगर प्रहरी निरीक्षक महेन्द्र महतोले मंगलबार साझियाँ घाट पूजाको सबै तयारी सम्पन्न भएको जनाए । उनले भीड व्यवस्थापनमा भक्तजनहरुको सुरक्षा र सहज दर्शनका लागि महानगरीय प्रहरी र नेपाल प्रहरीको सहयोग लिएको जनाए ।
सोमबार साँझसम्म तीन सय परिवारले घाट दर्ता गराइसकेका छन् । त्यहीअनुसार सोमबार रानीपोखरी वरिपरि किनारमा माटोको 'सिरसिता माई' अर्थात् छठ परमेश्वरीको स्वरुप बनाएर सिँगारिएको छ । घाटमा छठी माईको मिठो गीत गुन्जिरहेको छ । गीत सुन्दै सबै भक्तजनहरु घाट सजाउने र गेट बनाउने, टेन्ट हाल्ने काममा व्यस्त देखिन्थे ।
'गत वर्षसम्म रानीपोखरीमा तराई–मधेसका समूह मिलेरै छठ पूजाको व्यवस्थापन गर्थे । भक्तजनहरुले शुल्क पनि तिर्नु पथ्र्यो,' प्रहरी निरीक्षक महतो भन्छन्, 'यस वर्ष महानगरपालिकाले व्यवस्थापन गरेकाले निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।'
विगतमा रानीपोखरीमा छठ पूजाका लागि उच्च ओहदाका पदाधिकारीहरुलाई निमन्त्रणा गर्ने गरेको थियो तर यो वर्ष महानगरपालिकाले चलन हटाएको छ ।
रानीपोखरी महापर्व छठ समारोह समितिका पूर्व महासचिव आनन्द गुप्ताका अनुसार तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने छठ पर्व काठमाडौं उपत्यकाका जलाशय भएका स्थानहरुमा फैलिँदै गएकोमा खुसी व्यक्त गर्छन् ।
आठ दसकअघि कालिमाटी टंकेश्वरको विष्णुमति नदीबाट सीमित व्यक्तिहरुले काठमाडौंमा सुरु गरेको छठ पूजा हाल काठमाडौं उपत्यकाका २० भन्दा बढी स्थानमा फैलिएको गुप्ताले बताए । हाल काठमाडौंमा कालिमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमति पुल, गुहेश्वरी, कमलपोखरी, नागपोखरी लगायतका स्थानमा ब्रतालुहरुले छठ पर्व मनाउँदै आएका छन् ।
कमलपोखरी छठपूजा व्यवस्थापन समीतिका अध्यक्ष राजेन्द्र सिंहले विगत ५ वर्षदेखि छठ पूजाको व्यवस्थापन गर्दै आएका छन् । नेवार समुदायको भए पनि छठ परमेश्वरी र सूर्यदेव प्रतिको आस्थाले आफूले छठ व्यवस्थापन गर्दै आएको सिंह जनाउँछन् । सोमबार साँझ सिंह मंगलबारको साझियाँ घाटका लागि सिँगार्दै थिए । साथीभाइ र भक्तजनहरुको सहयोगमा उनले पोखरी सफाइ, रंगरोगन, छठिमाईको मूर्ति स्थापना गर्ने तथा बत्तीले घाट सिँगार्ने कार्य सम्पन्न गरे ।
'पाँच वर्षअघि कमलपोखरीमा ढलैढल र जलकुम्भीले फोहोर भएकाले भक्तजनहरुलाई पूजा गर्नै असहज भएको थियो,' सिंहले भने, 'त्यतिखेर सरकारसँग आर्थिक सहयोग मागेर पोखरी व्यवस्थापन गरेको थिएँ । यस वर्ष पनि सहरी विकासबाट कमलपोखरी व्यवस्थापन, छठ व्यवस्थापन लगायतका लागि एक करोड रकम निकासा गराएको छु । यो पोखरीलाई पर्यटकीय पोखरी बनाउने हाम्रो लक्ष्य छ ।'
EmoticonEmoticon