भक्तपुर दरबारको भूमिगत अवस्था मजबुत


18 Nov 2015 | 08:26am

काठमाडौं-वैशाख १२ गतेको विनाशकारी भूकम्पले आँखाले देखिने दर्जनौं स्मारकहरु फेदैदेखि ढलायो । ती संरचना मुनिको अवस्थाका बारेमा भने कसैलाई थाहा थिएन । केही हप्ता अघिदेखि सुरु भएको एक अध्ययनले भने काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका तीन वटा स्मारकहरुमध्ये भक्तपुरको भूमिगत अवस्था मजबुत रहेको देखिएको छ ।



तीनै स्मारक क्षेत्रमा ३ देखि ४ मिटर गहिराइ उत्खनन् गर्दा त्यहाँका संरचनाहरुको तुलना गर्दा यस्तो देखिएको उनीहरुले जनाएका छन् । मन्दिरहरुको आधारपेटी र जगको उत्खनन÷अन्वेषण गरेर अध्ययन गरिएको हो ।

पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयका अनुुुसन्धाताहरुले गरेको 'भू–भौतिक सर्भे' विधिको अध्ययनबाट यस्तो पत्ता लागेको हो । सोमबार भक्तपुर दरबार क्षेत्रमा आयोजित 'भक्तपुर दरबार क्षेत्र उत्खननसम्बन्धी जानकारी कार्यक्रम'मा अनुसन्धानकर्ताहरुले यस्तो बताएका हुन् । भूकम्पपछि भत्किएका संरचनाहरु पुनर्निर्माण गर्न उत्खनन गरेर 'भू–भैतिक' सर्भे गरिने योजनाअनुसार भएको अध्ययनले यस्तो निश्कर्ष निकालेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

भूकम्पपछि सम्पदाहरुको जगको अध्ययन गर्न यस्तो सर्भे गरिएकोमा ललितपुर र काठमाडौंभन्दा भक्तपुर दरबार क्षेत्रको जग बलियो रहेको उनीहरुले पत्ता लगाएको कुँवरले बताए । 'भूकम्पबाट भक्तपुर क्षेत्रको भूमिगत संरचना अन्यमा भन्दा कम क्षति छ,' उनले भने, 'वैज्ञानिक किसिमले गरिएको यो अध्ययनले पुनर्निर्माणका लागि सहयोग गर्नेछ ।'

अध्ययनमा संलग्न दुर्हाम विश्वविद्यालयका प्रध्यापक रविन कनिङघमले पनि अध्ययनले भुइँमुनिको संरचनाको अवस्थाका बारेमा थाहा भएको बताए । 'भुइँमुनि के छ भन्ने हामीलाई थाहा थिएन,' उनले कार्यक्रममा भने, 'अहिलेको भूकम्प मात्र होइन, वि.स. १९९० को भूकम्पले पनि भक्तपुरका कतिपय स्मारकमा असर गरेको रहेछ भन्ने पनि थाहा पाइयो ।'

भूकम्पपछिको अवस्थाका बारेमा यस्तो गहन अध्ययनले सम्पदा पुनर्निर्माण गर्ने बाटो खोलिदिएको उनले बताए । 'भूकम्पले मानवीय क्षति ठूलो भयो, साथमा सांस्कृतिक क्षति पनि कम भएन,' उनले भने, 'अध्ययनले यसअघिका भूकम्पले पनि क्षति गरेर सम्पदाहरु पटक–पटक निर्माण भएको उत्खननबाट प्राप्त इँटा, पर्खाल लगायतका प्रमाणहरुले देखाएका छन् ।'

अध्ययनमै संलग्न पुरातत्वविद कोषप्रसाद आचार्यले पुर्खाले बनाएका यस्तो संरचनाको भूमिगत 'भू–भौतिक सर्भे'बाट अवस्थाबारे जान्ने मौका मिलेको जानकारी दिए । 'उत्खननबाट प्राप्त माटो र कोइलाका टुक्राको कार्बन डेटिङ परीक्षणबाट कालखण्डबारे पनि जानकारी पाइन्छ,' उनले भने, 'त्यसको परीक्षणका लागि विदेश पठाउँदैछौं ।'

भूकम्पमा क्षति भएका काठमाडौंका सात स्मारकमध्ये काठमाडौं, भक्तपुर र पाटन दरबार क्षेत्रका केही स्थानमा यसरी अध्ययन गरिएको छ । युनेस्कोको आर्थिक सहयोगमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयका विशेषज्ञ टोलीले उत्खनन तथा सर्भे सम्पन्न हुने क्रममा छ ।

पुरातत्व विभागको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं दरबार क्षेत्रका ९ वटा सम्पदाहरु पूर्ण रुपमा क्षति भएका छन् । पाटनमा ५ र भक्तपुरमा ४ वटा स्मारक पूर्णरुपमा क्षति भएको विभागले जनाएको छ ।

Previous
Next Post »