बेलायतमा नेपालीको विरोध देखेर मोदी आश्चर्यचकित



फोटो :मोदीविरुद्ध बेलायतमा प्रदर्शन गर्दै नेपालीहरु

नेपालीको प्रभावबारे उच्चायोगसँग प्रतिवेदन माग
काठमाडौं : बेलायत भ्रमणमा गएकै दिन सयौं नेपालीले आफू र भारतविरुद्ध प्रदर्शन गरेको देखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आश्चर्यचकित भएका छन् । 
 
मोदीको बेलायत भ्रमणका क्रममा लण्डनको सडकमा नेपाली प्रदर्शनकारीको बाक्लो उपस्थितिबाट आश्चर्यचकित भएका मोदी र उनको प्रतिनिधिमण्डलले नेपालीको विरोध प्रदर्शन र उनीहरुको प्रभावबारे प्रतिवेदन मागिएको हो । 
 
नेपालीले आफ्नो संविधान जारी गर्दा भारतले नाकाबन्दी गरेको विरोधमा बेलायतमा रहेका नेपालीहरुले मोदी लण्डन ओर्लेपछि त्यहाँस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि जम्मा भएर तीब्र विरोध जनाएका थिए । 
 
भारतीय चर्चित समाचारपत्र इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री मोदीको कार्यालयले नेपालीको प्रदर्शनलार्इ गम्भीरतापूर्वक लिँदै बेलायतस्थित उच्चायोगलार्इ प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । 
 
मोदीविरुद्ध बेलायतमा नेपालीले गरेको प्रदर्शन
मोदी भारतबाट लण्डनमा ओर्लेर टेन डाउनिङ स्ट्रिटमा बिहीबार नेपाली प्रदर्शनकारीहरुले भारतीय नाकाबन्दीविरुद्ध मोदी #BACKOFF' भन्दै चर्को नाराबाजी गरेका थिए । 
 
मोदी र ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरुनले लण्डन स्क्वायरमा महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरिरहँदा दुबै नेताले सुन्ने गरी नेपालीले भारतीय नाकाबन्दीविरुद्ध नारा लगाएका थिए । 
 
बेलायत भ्रमणमा मोदीसँगै गएका उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलले ब्याकअफ इन्डिया र रिमुभ ब्लकेड र मोदी नट वेलकम नारा लगाइरहेका नेपालीहरुलाई नजिकबाटै देखेका थिए।
 
प्रदर्शनकारीहरुले नेपालमा नाकाबन्दी गरेका मोदीलार्इ 'रेड कार्पेट' ओछ्याएकोमा पनि बेलायत र उसका प्रधानमन्त्री डेभिड क्यामरुनको आलोचना गरेका थिए । 
 
उनीहरुले बेलायती प्रम क्यामरूनले नेपालमा लगाइएको नाकाबन्दी रोक्नका लागि मोदीमाथि दबाब दिनुपर्ने पनि माग गरेका थिए । 
 
गुजरात दंगा र सिख समूहले बेलायतमा आफूविरुद्ध प्रदर्शन गर्ने कुराको जानकारी भने मोदीलार्इ थियो । 'तर हामीलार्इ नेपालीहरुको विरोध प्रदर्शनले आश्चर्यचकित बनाएको छ', स्रोतलार्इ उधृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, 'उच्चायोगले यसबारेमा प्रतिवेदन पठाउने छ ।'
 
भारत-बेलायतका प्रधानमन्त्रीले संयुक्त बक्तब्य दिँदै दक्षिण एसियाको तल्लोतहका विशेष सवाललार्इ सम्बोधन गर्ने जनाएका थिए । उनीहरुले राजनीतिक स्थिरता र आर्थिक विकासलार्इ वृद्धि गर्नका लागि नेपालमा एक स्थायी र समावेशी संवैधानिक व्यवस्थाबारे पनि जोड दिएका थिए । 
 
उनीहरुले भारत-नेपाल सम्बन्धबारेमा पनि उल्लेख गरेका छन् । दुर्इ देशले समुद्री मुद्दासहित दक्षिण एसियाका अन्य मुद्धामा एकापसमा सहयोग बढाउने कुरामा पनि समझदारी गरेका छन् । 
 
नेपालमा अघोषित नाकाबन्दी गरेर बेलायत पुगेका मोदीविरुद्ध बेलायतको लण्डनमा गैरआवासीय नेपाली संघसहित दर्जनौं संघ संस्थाका प्रतिनिधिहरुले चर्का नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । 
- See more at: http://annapurnapost.com/News.aspx/story/21722#sthash.w15thXib.dpuf
Previous
Next Post »