रगत संकलन गर्ने ब्याग अभावः रेडक्रस


  • 18 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightThinkstock
Image captionरगतदान गर्ने मानिसहरु आउँदा पनि ब्लड ब्याग नहुँदा रगत संकलन गर्न नसकिएको बताइएको छ।
भारतसँगका सीमानाकामा जारी अवरोधका कारण रगत संकलन गर्ने ब्याग नेपाल भित्रिन नसकेपछि त्यसले गम्भीर स्वास्थ्य संकट निम्त्याएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
आपतकालीन आवश्यकता पूरा गर्न हवाईमार्गबाट सीमित ब्यागहरु मगाउने गरिएको नेपालमा रगत संकलन गर्दै आएको रेडक्रस सोसाइटीका अधिकारीहरुले बताएका छन्।
नेपालमा वार्षिक २ लाख पिन्टभन्दा बढी रगतको प्रयोग हुने गरेको सरकारी तथ्यांक छ।
त्यस्तो रगत संकलन गर्ने जिम्मा सरकारले नेपाल रेडक्रस सोसाइटीलाई दिएको छ।

हवाईमार्ग

तर अहिले सीमानाकाबाट सामान आइनसकेको र भएको मौज्दात सकिएकोले रगत संकलनमा कठिनाई भइरहेको रेडक्रस अधिकारीहरु बताउँछन्।
यो समस्याको समाधान गर्नका लागि आपतकालीन केही ब्यागहरु हवाईमार्गबाट ल्याउने गरेको रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसंचार सेवाकी निर्देशक मनिता राजकर्णिकार बताउँछिन्।
उनले भनिन्, “अहिले हामीसँग ब्याग छैन्, हामीले हवाईमार्गबाट अलिअलि मगाउदै गरेका छौँ, चीन र भारतबाट मगाएका छौँ, सोमबार ५ सय आयो, बिहिबार फेरि ५ सय आउँदैछ, यसरी चलाईरहेका छौँ।”
रगतको शुद्धता जाँच्ने र त्यसको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्द्रीय जनस्वास्थ प्रयोगशालाले पनि आवश्यकता अनुसार सरकारी अस्पताल र रेडक्रस सोसाइटीलाई रगतको ब्याग उपलब्ध गराउँदै आएकोमा यसपालि सीमानाकामा भएको अवरोधकै कारण उपलब्ध गराउन नसकेको बताएको छ।
तर रगतको ब्यागमात्र होइन, अहिले रक्तदान गर्ने दाताहरुको पनि अभाव हुनु अर्को समस्याको रुपमा देखिएको अधिकारीहरु बताउँछन्।

अभाव

केन्द्रीय जनस्वास्थ प्रयोगशालाका वरिष्ठ अधिकारी मुकुन्द शर्माले बताए।
उनले थपे, “अहिलेको समस्याले गर्दा मान्छेहरु रक्तदान गर्न आउने भन्दा ग्याँस जुटाउन र पेट्रोलको लाइनमा बस्न बाध्य छन्, जसले गर्दा रक्तदाताहरुको अभाव भएको छ।”
उनीहरुका अनुसार रगत अभावले कुनै विरामीले ज्यान गुमाउनुपर्ने अवस्था भने अहिलेसम्म आएको छैन्।
तर रक्तदान गर्नेहरुको संस्था ब्लड डोनर्स एसोसियसनले भने रगत संकलन गर्न आवश्यक योजना रेडक्रससँग नभएकोले नै यस्तो समस्या आएको भनी आलोचना गरेको छ।
Previous
Next Post »