इन्धन अभावको मारमा गर्भवती र सुत्केरी
18 Nov 2015 | 18:29pm
काठमाडौं—भारतले दुई महिनादेखि गरेको अघोषित नाकाबन्दीका कारण समयमा औषधि आपूर्ति हुन नसक्दा प्रसूति गृह थापाथलीमा औषधिको अभाव भएको छ।
नाकाबन्दीका कारण इन्धन आपूर्ति नभएकाले शल्यक्रियाका लागि चाहिने औषधिको चरम अभाव भएको अस्पताल स्रोतले जनाएको छ। नाकाबन्दी अघि भन्दा बिरामीको सङ्ख्या कम भएकोले आजसम्म पुरानो औषधिले काम चलेको भए पनि अब औषधिको कमी अत्याधिक भएको अस्पताल प्रशासक अमरनाथ अमात्यले बताए।
"शल्यक्रियाका लागि चाहिने औषधिको निकै अभाव भएको छ, हामीलाई औषधि दिने कम्पनीले औषधि छैन भन्छ" उनले भने। अमात्यले पहिलेकै मौज्दात औषधिले आजसम्म काम चले पनि अब एक हप्ताभन्दा बढी धान्न नसक्ने जानकारी दिए।
गर्भवती शल्यक्रियाका लागि चाहिने अत्याश्यक औषधि र अक्सिजनको अभाव भएकाले अस्पतालले सरकारसँग इन्धन र औषधिको सहजता गर्न आग्रह गरिसकेको छ । अस्पतालले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माग गरे बमोजिम एक दिनमा चाहिने न्यूनतम इन्धन पाउने भएको छ ।
प्रशासक अमात्यले अस्पतालमा दैनिक ११० लिटर डिजल, १० लिटर पेट्रोल, एक सिलिन्डर ग्यास र १० सिलिन्डर अक्सिजन आवश्यक पर्ने बताए। अस्पतालभित्र दाउरा बाल्ने ठाउँ नभएकाले बिरामी र डु्युटीमा खटिने चिकित्सकका लागि खाना पकाउन समस्या परेको उनको भनाइ छ।
अस्पताललगायत विभिन्न सङ्घ संस्थाले सञ्चालन गर्दैआएको एम्बुलेन्स सेवा पनि इन्धन अभावका कारण कम चलेको र चलेको भए पनि महँगो भएकाले अस्पताल आउनजान समस्या भएको छ । न्यून मात्रामा सवारी साधन चलेकोले प्रसूति गृहमा आउने बिरामीको सङ्ख्यामा पनि कमी आएको छ ।
अस्पताल प्रशासक अमात्यले पहिले दैनिक १०० भन्दा बढी बिरामी उपचारको लागि आउने गरेको भए पनि अहिले ६०÷७० को सङ्ख्यामा मात्र आउने गरेको जानकारी दिए। रासस
EmoticonEmoticon