18 Nov 2015 | 18:20pm
ललितपुर– शहरमा मान्छेको भिडभाड नबढदै उनीहरुले आफ्नो विहानीको नित्यक्रम पुरा गरिसक्नु पर्छ । वर्षाभर पानीको बाछिटो फाटेको पालले छेकेजस्तै अब पुसमाघको चिसो पनि त्यही पालकै भरमा टार्नुछ।
शौचालय र सरसफाईका लागि आवश्यक साधन र उचित स्थान छैन। केही प्रहरी पुरातत्व विभागको अनुसन्धान प्रयोगशालाले उपलब्ध गराएको दुई कोठामा छन। केही त्यही अगाडिको पालमा सुत्छन्। र धेरै प्रहरी पाटनको मुख्य कोतपाटीलाई एकातर्फबाट पालले बेरेर बस्दै आएका छन्। खाना पकाउन दाउराको भर मात्र छ। प्रहरी सेवा लिन आउने सेवाग्राहीका लागि पालमै कार्यालय निर्माण भएको छ। र पालको बाहिर लेखिएको छ ' नेपाल प्रहरी दुख सुखको साथी'।
20151116 084135
काठमाडौं उपत्यकाको सुरक्षाका लागि गठन भएको महानगरीय प्रहरीले एकदशक पुरा गरिरहदा उसकै मातहतमा रहेको एउटा प्रहरी युनिट भने पछिल्लो ६ महिनादेखि पाटनको एउटा पाटीमा बसेर सेवाग्राहीलाई प्रहरी सेवा प्रदान गर्दै आएको छ । प्रहरी निरिक्षकको नेतृत्वमा ९० जना प्रहरीको दरबन्दी रहेको प्रभागले पुरातात्विक पाटन दरबार क्षेत्र र नेवार सुमदायमा भै रहने जात्रा र पर्वको सुरक्षा जिम्मेवारी पाएको छ।
महानगरीय प्रहरी प्रभाग मंगलबजार मातहत रहेका प्रहरी अधिकृत र जवान पुरानो भवन भूकम्पमा चिराचिरा परेपछि पाटीमा बस्न बाध्य भएका हुन्। तात्कालीन ललितपुर नगरपालिका रहेको मंगलबजारस्थित पुरानो भवन भूकम्प अघि नै क्षतिग्रस्त अवस्थामा रहेको थियो। भूकम्पले भवनको मुख्य भाग नै चिराचिरा परी फाटेको छ। भवन विभागले रातो स्टिकर टासेको भएपनि प्रहरीले सोही भवनमा खाना पकाउने मेस र भवनकै अगाडि पाललाई कार्यालय बनाएर महानगरीय प्रहरी सेवा दिँदै आएको हो।
'प्रहरीले धेरै सुख सुविधा खोज्नु त हुन्न नै तर यहाँ त न्युनतम पनि भएन, न्युनतम समय आराम पाउने प्रहरीका लागि उचित स्थान नै भएन,' प्रहरी कर्मचारीको खटनपटनमा संलग्न रहने हवल्दार मेजर भिमसेन थापाले भने ।
प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रेशमबहादुर श्रेष्ठ बिकल्प नै नभेटेपछि भत्किएकै भवनको एउटा कोठामा कार्यालय र आवास बनाएर बस्दै आएको बताउँछन्। उनले पाटन दरबार क्षेत्र जस्तो सम्वेदनशील स्थानको सुरक्षाको जिम्मेवारी रहेकाले अन्यत्र सर्ने अवस्थासमेत नरहेको बताए। 'दरबार क्षेत्र सहित बाक्लो बजार र बस्तीको जिम्मेबारी छ, यहाँ बस्ने स्थान तपाईले देखि हाल्नु भो,' उनले भने ।
बासका लागि प्रयास
मंगलबजार प्रभागले बैशाखमा गएको भुकम्प भन्दा तीन महिना अघिदेखि उचित बासस्थान र कार्यालयका लागि पहल गर्दे आएको थियो। प्रभागले गतवर्ष माघ १९ गते सर्वदलीय बैठक बोलाएर पहल थालेको थियो।
प्रभागले प्रहरी परिसर ललितपुर र परिसरले जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय हुदै गृहमन्त्रालयसम्म पत्राचारको क्रम चलेपनि कार्यन्वयनका लागि कतैबाट पहल भएको छैन। प्रहरीले हाल बस्दै आएको उपमहानगरपालिकाको अधिनमा रहेको जग्गा भोगचलनका लागि आवश्यक पत्राचार र कानुनी प्रकृया पुरा गरेपनि उपमहानगरपालिकाबाट कुनै जवाफ आएको छैन । यस्तै पुरातत्वकै भवनमा रहेको एकटुक्रा जग्गामा समेत प्रहरीले भवनका लागि पहल गरेपनि त्यो पनि कागजमै सिमित भएको छ । प्रभागका इन्चार्ज श्रेष्ठले पत्राचारको मोटो फाईल देखाउदै भने "प्रयास मात्रले हुने रहेनछ,'।
पाँचलाख निजी सुरक्षा कम्पनीलाई
राष्ट्रिय पुरातत्व विभागले पाटन दरबार भित्रको सुन्दरीचोक सर्वसाधारणका लागि खुला गरे यता सुरक्षाको जिम्मेबारी एक निजी कम्पनीलाई दिएको छ । सत्कार सेक्युरीटी कम्पनीबाट चारजना सुरक्षा गार्ड दरबारको सुरक्षामा चौबिसै घण्टा खटिने गरेका छन्। विभागले सुन्दरी चोकको सुरक्षाका लागि वार्षिक करिब पाँचलाख रुपैयाँ खर्चदै आएको छ । प्रहरीले भने सुन्दरीचोक भित्रको खाली स्थानमा प्रहरीका लागि ब्यवस्थित बासस्थान दिए सम्पूर्ण सुरक्षाको जिम्मेबारी लिनै बताउदै आएको हो । विभागका महानिर्देशक भेषनारायण दाहालले भने यस बिषयमा अनभिज्ञता व्यक्त गरे।
सबैले हेरे,पहल कसैले गरेन
भूकम्प अघि र भुकम्प पछि प्रहरी प्रभागको अवस्थाको अवलोकन महानगरीय प्रहरी आयुक्त देखि पुरातत्वका महानिर्देशक दाहालसम्मले गरेको निरिक्षक श्रेष्ठले बताए । उनका अनुसार प्रहरी आयुक्त एआईजी बिज्ञानराज शर्मा, प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला, प्रहरी वरिष्ठ उपरिक्षक पिताम्बर अधिकारी र महानिर्देशक दाहाल लगायत जिल्लाबाट निर्वाचित सभाषद तथा सर्वसाधारणले भवन र प्रभागको अवस्था अवलोकन गरेपनि ठोस पहल हुन सकेको छैन।
EmoticonEmoticon