पर्थमा ब्याट्सम्यान हाबी

पर्थ– बलमाथि ब्याट हाबी हुने क्रमले चौथो दिन पनि निरन्तरता पाउँदा घरेलु टोली अस्ट्रेलियाले दोस्रो टेस्टमा न्युजिल्यान्डमाथि सोमबार १ सय ९३ रनको अग्रता लिएको छ ।

पर्थमा जारी टेस्टमा रोज टेलरले करिअरकै उच्च प्रदर्शन गर्दै २ सय ९० रन बनाएका थिए । भ्रमणकारी टोलीका ब्याट्सम्यानले अस्ट्रेलियामा बनाएको योे सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो । ५१‌०/६ को स्थितिबाट दिनको खेल सुरु गरेको न्युजिल्यान्डले टेलरको उच्च प्रदर्शनमा पहिलो इनिङमा ६ सय २४ रन बनाउँदै ६५ रनको अग्रता लिएको थियो । व्यक्तिगत २ सय ३५ रनमा सोमबार खेल सुरु गरेका टेलरले सोमबार ५५ रन थपे ।

तर, स्टिभ स्मिथ र एडम भोग्सले शतक बनाएपछि कमजोर सुरुआतका बाबजुद अस्ट्रेलिया पुनरागमन जनाउन सफल भयो ।

सोमबार चौथो दिनको खेल सकिँदा घरेलु टोलीले आफ्नो दोस्रो इनिङमा २ विकेट गुमाउँदै २ सय ५८ रन बनाइसकेको छ । ओपनर जोए बर्नसलाई शून्य तथा डेविड वार्नरलाई २४ रनमा गुमाएको अस्ट्रेलियाका लागि कप्तान स्मिथले करिअरको १२ औं तथा वर्षको पाँचौं शतक प्रहार गर्ने क्रममा अविजित १ सय ३१ रनको योगदान गरे । भोग्सले अविजित १ सय १ रन बनाए । यसक्रममा स्मिथले १ सय ७० बलमा १७ तथा भोग्सले १ सय ८९ बलमा १५ चौका प्रहार गरे ।

भोग्सले सोमबार अन्तिमभन्दा अघिल्लो ओभरमा शतक पूरा गरेका थिए । स्मिथले भने ९६ रनमा महŒवपूर्ण जीवनदान पाए । तीब्र गतिका बलर म्याट हेनरीको बलमा विकेटकिपर बिजे वाट्लिङले लेगसाइडमा आएको बलमा क्याचको अवसर खेर फाल्दा स्मिथले जीवनदान पाएका हुन् ।

ब्याटिङमैत्री पिचमा खेल बराबरी हुने प्रस्ट संकेत देखिए पनि अस्ट्रेलियाले मंगलबार पाँचौं दिन बिहानै इनिङ समाप्तिको घोषणा गरेर न्युजिल्यान्डलाई सस्तैमा समेट्दै जित हासिलको प्रयास गर्ने सम्भावना छ ।

तीन टेस्टको शृंखलामा अस्ट्रेलिया १–० ले अघि लागिसकेको छ । गावामा सम्पन्न पहिलो टेस्टमा घरेलु टोलीले न्युजिल्यान्डमाथि २ सय ८ रनको विजय पाएको थियो । तेस्रो टेस्ट नोभेम्बर २७ देखि एडिलेडमा हुनेछ ।

Previous
Next Post »