पिएनजीसँग नेपालको हार

काठमाडौं-शरद भेषावकर र सुवास खकुरेलको अर्धशतकीय प्रदर्शनका बाबजुद सोमबार अबुधाबीस्थित शेख जायेद रंगशालामा पपुवा न्युगिनी (पिएनजी) सँग २ विकेटले पराजित भएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित पाउने नेपालको प्रतीक्षा लम्बिएको छ ।



साढे तीन वर्षभन्दा लामो समय नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका प्रशिक्षक पबुदु दासानायकेको अन्तिम भ्रमणसुखद बनाउने लक्ष्यमा रहेको नेपाली टोलीले सोमबार टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । तर, अपेक्षाअनुसार बलिङबाट चुक्दा असाद भालाको अलराउन्ड प्रदर्शनप्रेरित पिएनजीले तीन बलअघि नै ८ विकेट गुमाएर २ सय ३५ रन बनायो ।

भालाले ८७ रन बनाएपछि पिएनजीको जित सम्भव भएको हो । शक्ति गौचनको बलमा सोमपाल कामीबाट क्याचआउट हुनुअघि उनले १ सय ७ बल खेल्दै ६ चौका प्रहार गरेर पिएनजीको इनिङ सम्हालेका थिए । चौथो नम्बरमा क्रिजमा गएका भालाले सातौं विकेटमा चाल्र्स अमिनीसँग ६५ रनको महŒवपूर्ण साझेदारी गरे । उनलाई क्रिजमा राम्ररी साथ दिने क्रममा अमिनीले ४२ बलमा चार चौकासहित ३५ रनको व्यक्तिगत योगदान गरे ।

४९ रन बनाउँदा दुई विकेट गुमाइसकेको पिएनजीका लागि भालाले तेस्रो विकेटमा ओपनर भानी मोरिया (१२) सँग २४ रनको साझेदारी गरे भने चौथो विकेटमा सेसे बाउ (१५) सँग २५ रन जोडे । यसैगरी उनले १६ रन बनाएका माहुरु दाईसँग पाँचौं विकेटका लागि ३७, छैटौं विकेटका लागि कप्तान एवंविकेटकिपर ज्याक भारे (१) सँग ४ तथा आठौं विकेटा आफै पवेलियन फर्किनुअघि जोन रेवा (१५) सँग २२ रन जोडे ।

नेपालबाट कप्तान पारस खड्का र भेट्रान बलर महबुब आलमले २–२ विकेट लिए भने सोमपाल, शक्ति र सागर पुनले १–१ विकेट लिए ।

त्यसअघि पहिलो बलमै ओपनर अनिल मण्डललाई गुमाए पनि सुवासको धैर्यपूर्ण ब्याटिङप्रेरित नेपालले चुनौतीपूर्ण स्कोर बनाएको थियो । विकेटकिपर सुवासले १ सय ४ बल सामना गर्दै दुई चौकाको मद्धतमा ६३ रन बनाएर नेपालको इनिङ सम्हालेका थिए । अनिल आउट भएपछि क्रिजमा गएका सागर २३ बलमा १० रन बनाएर पवेलियन फर्किए । चाद सोपरको बलमा एलबिडब्लु धरापमा पर्नुअघि सागरले दोस्रो विकेटमा सुवाससँग २९ रनको साझेदारी गरेका थिए ।

सुवासले त्यसपछि उपकप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटमा ४७ तथा पाँचौं विकेटमा शरदसँग ५६ रनको महŒवपूर्ण साझेदारी गरे । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौकासहित २३ रनको योगदान गरेका थिए । ब्याटिङमा भरपर्दा कप्तान पारस खड्काले सोमबार अपेक्षित प्रदर्शन गर्न सकेनन् । चौथो विकेटका रूपमा पवेलियन फर्किंदा १६ बल खेलेका उनको खातामा ६ रनमात्र थियो ।

पारसको साथ टुट्दा नेपाली टोली ४–८६ को अवस्थामा थियो । तर,शरदले आक्रामक ब्याटिङ गर्दै नेपालको आशा जगाए । ८२ बलमा ७८ रन बनाएका शरदले ५ चौका प्रहार गरे । वसन्त रेग्मीले अविजित २४ रनको योगदान गरेका थिए ।

पिएनजीका लागि भालाले ७ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिँदै नेपालको ब्याटिङलाइनलाई संघर्षमय अवस्थामा पु¥याएका थिए । यसैगरी दाईले दुई विकेट लिए भने रेभा, सोपर र भानुआले १–१ विकेटमा नाम लेखाए ।

विश्व क्रिकेट लिगअन्तर्गत सोमबारै युएईमा सम्पन्न अर्को खेलमा हङकङले घरेलु टोली युएईमाथि ८९ रनको विजय पायो ।

पहिलो जितको खोजीमा मैदान प्रवेश गरेका दुई देशबीचको खेलमा पराजित भएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप अंकतालिकाको पुछारबाट माथि उठ्ने नेपालको लक्ष्य सफल हुन सकेन । हारपछि तीन खेलसम्म अंकरहित रहेको नेपाल पुछारमा यथावत छ भने पहिलो जितसँगै २ अंक जोडेको पिएनजी ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको सातौं स्थानमा छ । समान २ अंक भए पनि नामिबिया नेट रनरेटका आधारमा छैटौं तथा युएई पाँचौं स्थानमा छन् । सोमबार विजय पाउने अर्को टोली हङकङ भने ४ अंकसाथ चौथो स्थानमा कायम छ । च्याम्पियनसिपमा नेपाल र पिएनजीसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, केन्या, हङकङ, युएई र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् । सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । आठमध्ये शीर्ष ६ मा रहेका टोलीले सन् २०१९ को आइसिसी विश्वकपको छनोट खेल्न पाउनेछन् । ६ अंकसाथ नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने समान अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

नेपालले विश्व क्रिकेट लिगमा यसअघि स्कटल्यान्डसँगका दुवै खेल गुमाएको थियो । जुलाईमा पहिलो खेल ३ रनले गुमाएको नेपाल अर्को खेलमा ९ विकेटले पराजित भएको थियो । अर्कोतर्फ पिएनजीले पनि जुनमा नेदरल्यान्ड्ससँगको खेल ५ विकेट र ८५ रनले गुमाएको थियो । नेपाल र पिएनजीबीच दोस्रो खेल बुधबार सोही मैदानमा हुनेछ ।

युएई जानुअघि नेपाली टोलीका क्यानेडियन प्रशिक्षक दासानायकेले पिएनजीविरुद्धको खेल नेपाली टोलीको प्रशिक्षकका रूपमा आफ्नो अन्तिम हुने बताइसकेका थिए । आन्तरिक द्वन्द्वमा रुमल्लिएको नेपाली क्रिकेटबाट अलग हुनदासानायकेले पिएनजीविरुद्धको दुई खेलपछि लागू हुनेगरी गत महिना नै राजीनामा दिएका थिए।

पिएनजीविरुद्धको खेलको तयारीलाई नेपाली टोली झन्डै दुई सातादेखि युएईमा अभ्यासरतथियो । अभ्यास भ्रमणका क्रममा नेपालले ३ वटा ५० ओभर र एउटा दुईदिवसीय खेल खेलेको थियो । हङकङविरुद्धको दुईदिवसीय खेलमा बराबरी नतिजा निकालेको नेपालले एकदिवसीयमा भने विश्वकप विजेता रहिसकेको पाकिस्तानी टोलीसँग उच्च प्रदर्शन गरेको थियो । पाकिस्तानी टोलीसँग १ सय २१ रनले पराजित भए पनि नेपालको प्रदर्शनले प्रशंसा बटुलेको थियो । पाकिस्तानको सशक्त बलिङसामु पूरा ५० ओभर खेलेको नेपाली टोलीले २ सय रनको आँकडा पार गरेको थियो । स्थानीय डानुबे लायन्स क्रिकेट क्लबलाई १४ रनले हराएको नेपालले शनिबार ओमानसँगको खेल ३ विकेटले गुमाएको थियो ।
- See more at: http://nagariknews.com/sports/cricket/story/48714.html#sthash.9HBlpfW1.dpuf
Previous
Next Post »