फ्रान्समा भएको आक्रमणको विश्वभर भर्त्सना
- 14 नोभेम्बर 2015
फ्रान्समा भएको आक्रमणको संसारभर नै भर्त्सना भएको छ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त आक्रमण समग्र मानवतामाथिकै आक्रमण भएको बताएका छन्।
फ्रान्सलाई आवश्यक कुनै पनि खालको सहयोग उपलब्ध गराउने वाचा पनि उनले गरेका छन्।
चिनियां राष्ट्रपति सी जिंगपिंगले फ्रान्सेली समकक्षीसंग कुरा गर्दै आपसी सुरक्षा सहयोग विस्तार गर्न तयार रहेको बताएका छन्।
जर्मन चान्सलर एंगेला मर्केलले आफू फ्रान्समा भएको पछिल्लो घटनाले निकै स्तब्ध भएको बताइन्।
ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले समवेदना दिदैं जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
भ्याटिकनले फ्रान्समा भएको पछिल्लो घटनालाई मानवप्रतिको घृणा र पागल आतंकवादीको हमलाको संज्ञा दिएको छ।
फ्रान्सप्रति ऐक्यवद्धता जनाउन अमेरिकाको न्यूयोर्कस्थित विश्व व्यापार संगठनको भवनसहित संसारका केही प्रख्यात भवनहरुमा फ्रान्सको झण्डाको रंगमा प्रकाश दिइएको छ।
नेपालका प्रधानमन्त्री केपी ओलीले पनि प्यारिश आक्रमणको भर्त्सना गर्दै फ्रान्सेली राष्ट्रपतिलाई समवेदना सन्देश पठाएका छन्।
उनले उक्त आक्रमण खुला लोकतान्त्रिक र समतामूलक समाजको मूल्यमाथिको हमला भएको टिप्पणी गरेका छन्।
EmoticonEmoticon