नाकाबन्दीले ल्याएको नयाँ संकट





कार्तिक २८, २०७२- ‘बुढो बाउलाई जोखिमपूर्ण हिटरमा पकाउन लगाएको छ, एउटा ग्यास पनि जाहो गर्न नसक्ने कस्तो पत्रकार हो ?’ नजिकबाट चिन्नेहरु यसै भन्छन् । यस्तो लाग्न थालेको छ, आफन्त र परिवारका लागि मेरो पत्रकारिताको क्षमता एक सिलिन्डर ग्यास जोहो गर्न सक्नु वा नसक्नुमा निर्भर छ ।

धेरैको बुझाइमा पत्रकारलाई ग्यास र पेट्रोलको संकट छैन । आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षका लागि त झन् घरमै ग्यास र पेट्रोलको व्यवस्था हुनेमा धेरैजसो विश्वस्त छन् । पत्रकारितालाई स्वार्थपूर्तिको माध्यम बनाउनेहरुको चुरीफुरी देखेकाहरुका लागि म निक्कै नै चलखेल गर्न सक्ने पत्रकार–नेता हुनुपर्छ ।

जब कि झन्डै एक महिनादेखि मेरो चुलो घरायसी हिटरको भरमा चलेको छ । कतिपय पत्रकारहरुले अन्य पहुँचवाला जस्तो इन्धन जोहो गरेका छन् । केहीले आफन्तका लागि पनि व्यवस्था गरेको सुनिएको छ ।

आफू भने हरेक बिहान र बेलुका बालाई करेन्ट पो लाग्ने हो कि भनेर चिन्तित हुनुपरेको छ । बा आपैंm पकाएर खानु हुन्छ । हामीले पकाएको रोटी पनि नखाने पण्डित हो उहाँ । सानैदेखि त्यही संस्कारमा हुर्किनु भएकाले यतिखेर समस्या पर्‍यो परिवर्तन गर्न पनि सकिदैन । बाका साथै साढे ३ बर्षकी सानी छोरीलाई पनि ताजा खानेकुरा चाहिन्छ ।

दिनको दुई छाकमात्रै खाने बाका लागि पोषण नपुग्ला कि भन्ने चिन्ता पनि छ । बा दैनिक पशुपति मन्दिर दर्शन र सत्संगमा जानुहुन्छ । दिउँसो एक ग्लास जुसबाहेक केही खानुहुन्न । बिहान बेलुकी आफैंले पकाएको रोटी वा भात ।

हामी बुढाबुढी त गेडागुडीको झोल र भातमा रमाइरहेकै छौ । गुन्द्रुक भात र खिचडीको पनि राम्रै भरथेग छ । सायद, श्रीमतीलाई पनि बुढो बेबकुफ छ भन्ने लागेको हुनसक्छ तर उनले केही भनेकी छैनन् । जसरी पनि ग्यास ल्याउ भनेर पनि भन्न सकेकी छैन । ‘भाउजु तपाईंलाई त के चिन्ता है ग्यास र पेट्रोलको’ भनेर साथीभाईले भन्दा उनलाई पनि गिज्याएजस्तै लाग्दोरहेछ । उनले कुनै गुनासो गरेकी छैनन् ।

सुरु सुरुमा मह जोडीको एउटा टेलिफिल्मको उदाहरण दिँदै आफन्तहरुले पत्रकारका नाममा केही थप लाभ लेओस् भने चाहेका थिए । ‘भान्जा पत्रकार हो’ भन्दै उक्त टेलिफिल्ममा एकजनाले थर्काउने गरेको प्रसंग छ । मलाई पनि त्यस्तै आग्रह अप्रत्यक्ष रुपमा आउँथ्यो । अब सबैले बुझिसके । बेबकुफ भनेर नाक खुम्च्याउँछन् कि इमान्दार भनेर गर्व गर्छन् त्यो चाहिँ थाहा छैन । श्रीमतीको कुनै गुनासो र दबाब नभएकाले यस्तो सास्तीमा पनि पेशाको निष्ठामा आँच आउने काम नगर्न सकेको छु ।

परिस्थिति भने झन् जटील बन्दै गएको छ । भनसुन र कालोबजारीमा सबै चिज निर्भर हुन थालेको छ । पृष्ठभूमि याद नगरी व्यवसायीलाई भन्यो भने ग्यास आउने सम्भावना छ । अथवा केही बढी मूल्य तिरेर सिलिन्डर नै किन्ने हो भने पनि पाइन्छ ।

एक हप्ता जति अघि बिहान रातो हिटर बिग्रियो । तार बिग्रेको थियो । बुबा पकाउँदै हुनुहुन्थ्यो । उहाँले पकाइरहेका बेला भान्सामा गएर फेर्न मिलेन । यता उति चलाउँदा झिलिक–मिलिक भएर उहाँ आत्तिनु भयो । करेन्ट लाग्ने प्रवल सम्भावना थियो । पछि जेनतेन काँचै खाना खाएर उहाँ बाहिरिनु भयो ।
अति भएपछि त्यस दिन एकजना ग्यास डिलरलाई फोन गरें । भेटघाटमा उनी पत्रकारको मर्यादा बुझेको छु भन्थे र जस्तोसुकै सहयोग गर्छु भन्थे । यस्ता व्यक्तिसँग ग्यास माग्दा त होला नि भन्ने सोचेर फोन गरेको थिएँ । तर, उनी त उल्टै मसँग पेट्रोल पो माग्छन् बा ।

नाकाबन्दीको तेस्रो दिन थन्किएको गाडी दसैंको बेला दुई दिनमात्रै चलेको हो । अरु बेला सार्वजनिक यातायात । यही बीचमा अष्ट्रेलियाबाट परिवारसहित आएका दाईलाई लिन एयरपोर्टसम्म जान पनि पाइएन । दाजुले पनि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा इन्धन जोहो गर्न नसकेकामा गिज्याइरहे ।

निकै गाह्रो मानेर फूलपातीका दिन नक्साल प्रहरी पेट्रोल पम्पमा तेल हाल्न पुगें । मेरै पालोमा त्यहाँका हाकिम आइपुगे । सुरुमा त तेलै दिन्न भने । पछि निक्कै अनुनयविनय गरेपछि एक हजार रुपैयाँको तेल पाइयो ।

त्यही बीचमा पत्रकारलाई पेट्रोल दिएको छ रे मलाई पनि मिलाइ दिनुपर्‍यो भनेका थिए ती ग्यास डिलर मित्रले । आफूले बल्ल बल्ल पाएको तेल दिने कुरा भएन । उनका लागि पत्र बनाएर पत्रकार बनाइ तेल उपलब्ध गराउने कुरै भएन । नभएपछि ग्यास पनि पाइएन ।

व्यवसायीसँग परल मुल्य तिरेरै ग्यास लिँदा के फरक पर्छ र भन्नेहरु धेरैछन् । त्यसले पत्रकारिता बिग्रिने पनि होइन । पत्रकार अरुको ऋणी भयो भने स्वतन्त्र रुपले काम गर्न सक्दैन भन्ने मात्रै हो ।

माग्ने भन
Previous
Next Post »