‘आईएस नेताको मृत्यु’
विसाम नज्म अल जयाद अल जुबेदी नामबाट चिनिने अबु नबिल अलकायदामा समेत आबद्ध थिए
कार्तिक ३०, २०७२- आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का लिबिया प्रमुख मारिएको दाबी अमेरिकी रक्षा मन्त्रालयले गरेको छ।
पछिल्लो हवाई आक्रमणमा विसाम नज्म अल जयाद अल जुबेदी नामबाट चिनिने अबु नबिल मारिएको पेन्टागनले बताएको हो। इराकका स्थायी बासिन्दा उनी यसअघि लामो समय अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अलकायदामा आबद्ध थिए। हाल लिबियामा आईएसका सबैभन्दा वरिष्ठ नेता हुन्।
गत शुक्रबार राति उक्त हवाई आक्रमण गरिएको थियो, जसको उद्देश्य आईएसका नेताहरूलाई खोजेर सार्वजनिक गर्नु थियो। पेन्टागनका प्रवक्ता पिटर कुकको भनाइमा फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणअघि नै हवाई हमलाको स्वीकृति दिइएको र त्यसअघि नै सम्पन्न भइसकेको थियो।
गत फेब्रुअरीमा लिबियामा काप्टिक समुदायमा इसाई धर्मावलम्बीको हत्या हुँदा नबिल आईएस प्रवक्ताको भूमिकामा थिए। कुकका अनुसार उनको मृत्युबाट लिबियामा आईएस गतिविधिमाथि गम्भीर धक्का पुग्ने आकलन गरिएको छ। ‘नयाँ सदस्यको भर्नासमेत प्रभावित हुनेछ,’ उनले भने। ४ वर्षअघि तत्कालीन तानाशाह कर्णेल गद्दाफीको पतनयता लिबियाको अवस्था अस्थिर छ। जसका कारण आईएसको विस्तार भएको छ, यसले पश्चिमा देशहरूको चिन्ता बढाएको छ।
EmoticonEmoticon