प्रहरी यातनाबाट युवाको मृत्यु भएको भन्दै बागलुङमा प्रर्दशन


18 Nov 2015 | 19:44pm

बागलुङ– यहाँका एक युवाको उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तले प्रर्दशन गरेका छन्।



जिल्लाको तंग्राम घर भई बागलुङ बजारमा बस्ने २१ वर्षीय रविन पुनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल, पोखरामा निधन भएपछि आफन्तले प्रहरी प्रशासनका बिरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

लागू पदार्थ प्रयोगकर्ता रविनलाई गत १९ गते प्रहरीले पक्राउ गरेर सोही दिन सम्झाई बुझाई गरी छाडेको भए पनि करिब डेढ सातापछि युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका आफन्त प्रहरीको कुटपिटको कारण मृत्यु भएको आरोप लगाउँदै प्रर्दशन गरेका हुन्। आइतबार पोखरामा निधन भएपछि सोमबार बागलुङ बजारमा 'हामीलाइ न्याय चाहियो, दोषी प्रहरीलाई कारबाही गर, मानब अधिकारको संरक्षण गर' लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

प्रहरीको कुटपिटबाट छोराको शरिर भरी निल डाम भएको आमा चनमति पुनले बताईन्। 'प्रहरीले पक्राउ गरेर लगेपछि छोरा सागरले बुझेर ल्याएको हो,' आमा पुनले रुँदै भनिन्, 'कुटपिटको कारण छोराको ज्यान गयो। दोषीलाई कारबाही गर्नुपर्छ ।' मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।'प्रहरीले पक्राउ गरे पछि बिरामी भएको र उपचारको क्रममा निधन भएको छ,' मृतकका आफन्त केशव थापाले भने, 'घटनाको सत्यतथ्य छानविन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।'

प्रहरीले नियन्त्रणमा लिँदा रविनको पाखुरा भरी सिरिन्जले खोपेको भेटिए पछि सम्झाईबुझाई गरी सोही दिननै मृतकका आफन्त सागर पुनको जिम्मा लगाएको प्रहरीले जनाएको छ । पुनलाई पक्राउ गरी हिरासतमानै नराखी छाडेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक चक्र बहादुर सिंहले बताए । 'निज रविन(मृतक)ले सिरिन्जबाट ड्रग्स प्रयोग गर्ने गरेको भेटिएपछि पक्राउ गरी सम्झाई बुझाई गरी सोही दिननै आफन्तको जिम्मा लगाएका हौँ,' डिएसपी सिंहले भने, 'आफन्तले लगाएको आरोपमा कुनै सत्यता छैन ।' लागु पदार्थ प्रयोग गरेको आरोपमा पक्राउ गरेर प्रहरीले छाडेको करिब एक साता पछि आफन्तले रविनलाई उच्च ज्वरो आएको भन्दै निलगिरी अस्पताल, बागलुङ लगेका थिए । त्यसपछि पनि पुनलाई ठिक नभए पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय, बागलुङले लागुपदार्थ दुव्र्यसनीहरुको लागि चेतना अभियान संचालन गरेको छ । युवाहरुले लागु पदार्थ प्रयोग गरेर कुलतमा फसेको भन्दै पक्राउ गरी परामर्श प्रदान गरेर छाड्ने गरेको छ । बागलुङ बजारका विभिन्न स्थानबाट आज ३५ जना दुव्र्यसनमा लागेका युवालाई पक्राउ गरेर

सम्झाईबुझाई गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय,बागलुङका प्रहरी नायब उपरिक्षक चक्र बहादुर सिंहले बताए । 'दुव्र्यसनमा फसेका युवालाई पक्राउ गरेर सम्झाइबुझाई गरी अभिभावकको जिम्मा लगाएका छौँ,' डिएसपी सिंहले भने, 'दुव्र्यसनीको बिरुद्धमा चेतना अभिबृद्धि गर्न यो अभियान चलाएका हौँ ।'

Previous
Next Post »