मंसिर १, २०७२- भारतको अघोषित नाकाबन्दीका कारण मुलुकभर औषधिको चरम अभाव भएको उल्लेख गर्दै चिकित्सकहरूले कतिपय स्थानमा बिरामीको मृत्युसमेत भएको जनाएका छन् । ‘औषधिलगायत चिकित्साजन्य सामग्री नहुँदा बिरामीको मृत्यु हुन थालेको जानकारी हामीले पाउन थालेका छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनी झाले कान्तिपुरसँग भने, ‘यकिन तथ्यांक भने आइसकेको छैन ।’
सामान्य औषधिसँगै शल्यक्रियालाई आवश्यक, आईसीयू र सीसीयूलाई चाहिने औषधिको अभाव भएको छ । औषधिसँगै शल्यक्रिया र अन्य प्रक्रियाका लागि आवश्यक स्वास्थ्य सामग्री पनि पाइन छाडेको चिकित्सकहरूले बताएका छन् । अभाव बढेकाले बढीमा दुई साताका लागि मात्र पुग्ने औषधि दिने गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डियोथोरासिक सर्जन डा.भगवान कोइरालाले बताए । ‘अस्पतालमा आकस्मिक औषधि रित्तिएको छ, हिजो (आइतबार राति) उपचार गर्दागर्दै एड्रिनल सिद्घिएर समस्या भयो,’ उनले भने ।
औषधि र चिकित्सकीय सामग्री पाइन छाडेपछि सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रले नियमित सेवामा कटौती गरेर आकस्मिक उपचारलाई प्राथमिकता दिन थालेको निर्देशक डा.ज्योतिन्द्र शर्माले बताए । उनले नियमित शल्यक्रिया ३० प्रतिशत कमी गरिएको जनाए ।
त्रिवि शिक्षण अस्पतालको हालत पनि उस्तै छ । ‘आकस्मिकबाहेक शल्यक्रिया गर्ने स्थिति छैन,’ निर्देशक डा. दीपक महराले भने, ‘बिरामीको संख्यामा पनि ४० प्रतिशतसम्म कमी देखिएको छ ।’ औषधि व्यवसायी संघका अनुसार नेपालमा बर्सेनि २० अर्बको औषधि र १२ अर्ब बराबरको शल्यक्रियासँग सम्बन्धित अन्य सामान आयात हुन्छ । भारतको नाकाबन्दीयता औषधि र उपकरणहरू आउन सकेका छैनन् ।
सुदूरपश्चिम ब्युरोका अनुसार बैतडी विशालपुरका तेजबहादुर ताम्राकारले मुटु रोगी बुबाका लागि औषधि लिन धनगढी जाँदाजाँदै मृत्युको खबर पाए । डडेलधुरा सदरमुकाममा औषधि नपाएपछि उनी धनगढी जान लागेका थिए । मुटु रोगको औषधि नियमित सेवन गर्ने ५७ वर्षीय धर्मबहादुरले औषधि नपाएरै ज्यान गुमाउनुपर्यो ।
बझाङ भैरवकोटका ६३ वर्षीय ज्ञानबहादुर खड्का पनि मुटु रोगको औषधि नपाएर छटपटाउँदै डडेलधुरा उपक्षेत्रीय अस्पतालमा पुगे । प्रयोग गर्दै आएकै औषधि नपाए पनि अर्कैले ज्यान जोगिएपछि थप औषधि लिन उनी तराई झरेका छन् ।
डडेलधुरा सदरमुकामका पोलिक्लिनिक, निजी र उपक्षेत्रीय अस्पतालमा दिनहुँ औषधि नपाएर पीडित बिरामीको संख्या बढ्दो छ । ‘गाउँमा औषधि नपाउँदा चर्को भाडा तिरेर धनगढीबाट ल्याउनुपर्ने बाध्यता छ,’ बैतडी शिवनाथबाट दमको औषधि लिन आएका चक्रबहादुर चन्दले भने, ‘धनगढीमा पनि पाउन मुस्किल छ ।’
‘मुटु, मानसिक, दम, बालबालिकामा हुने निमोनियाजस्ता रोगका औषधि स्वास्थ्य संस्थामा मात्र होइन, बजारमा पनि छैन,’ स्थानीय औषधि व्यवसायी आदित्य भण्डारीले भने, ‘उच्च जोखिममा रहेका बिरामीलाई ठूलो सास्ती छ ।’
विक्रेता र सरकारी स्वास्थ्य संस्थामा समेत औषधि नभएको सुजंग अस्पताल डोटीका प्रमुख पुष्कर पनेरूले बताए । ‘बालबालिका, वृद्धवृद्धा, महिला र दीर्घरोगीले २ सातायता गम्भीर संकट भोग्नुपरेको छ,’ उनले भने । तराईका कैलाली, कञ्चनपुर जान यातायातको समस्या रहेको र पहाडी जिल्लामा औषधि नहुँदा संकट चुलिएको उनले बताए । बाँकी हरेक तीन महिनामा मौज्दात हुने गरी गाउँमा औषधि पठाउने व्यवस्था छ । ‘साउनपछि गाउँमा औषधि पुगेको छैन,’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. गुणराज अवस्थीले भने, ‘बढी चाहिने औषधि सकिन लागेकाले अन्योल भएको छ ।’ उनले बालबालिकालाई दिइने बीसीजी खोप पनि सकिएको बताए ।
‘चिसोमा चाहिने सबैखाले आवश्यक औषधिको अभाव भइसकेको छ,’ उनले भने, ‘केन्द्र र क्षेत्रीय स्तरबाट आउने औषधि पनि ढुवानी हुन सकेको छैन ।’ जिल्लामा टेन्डर स्वीकृत भए पनि आपूर्तिकर्ताले अझै पुर्याउन सकेको छैन । बजारमा औषधि सकिएको र नयाँ औषधि ढुवानी हुन नसक्दा अभाव भएको उनले बताए ।
डडेलधुरा जनस्वास्थ्य कार्यालयका अधिकृत दीपेन्द्र रावलले अब केही समयका लागि मात्रै औषधि बाँकी रहेको बताए । ‘नि:शुल्क औषधि पनि थोरै मात्र मौज्दात छ,’ उनले भने, ‘मौज्दात औषधिले धेरै समय धान्न सकिने स्थिति छैन ।’ उनले ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीबाट माग भएका औषधि पठाउने व्यवस्था गरिएको बताए । ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीहरू भने सबैखाले औषधिको चरम अभाव रहेको बताउँछन् । नि:शुल्क वितरण गर्नुपर्ने र अन्य सबैखाले औषधि अभाव भएको उनीहरूले जानकारी दिएका छन् । जिल्लाबाट लापरबाही हुने गरेको समेत स्थानीय स्वास्थ्यकर्मीको आरोप छ ।
सुदूरको दुर्गम पहाडी जिल्ला बाजुरामा औषधिको चरम संकट उत्पन्न भएको छ । औषधि नभएर जिल्ला स्वास्थ्यचौकीहरू रित्तिएका छन् । रक्तश्राव नियन्त्रणका लागि अनिवार्य रूपमा दिनुपर्ने अक्सिटोसिन नामक औषधि नभएर सुत्केरीको ज्यानै जोखिममा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन नाथले बताए । ‘औषधि लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति ठप्प हुँदा समग्र स्वास्थ्य प्रणाली नै अवरुद्ध हुने अवस्था छ,’ उनले भने, ‘स्वास्थ्यचौकीहरूमा औषधि पठाउन सकिएको छैन ।’ आपूर्ति हुन नसक्दा बजारमा समेत अभाव छ । ग्रामीण क्षेत्रलगायत सदरमुकाम मार्तडीस्थित निजी मेडिकलमा समेत मौज्दात औषधि सकिएको छ भने नयाँ औषधि आउन सकेको छैन ।
औषधि अभावका कारण मुटु रोगी लगायतका संवेदनशील बिरामीहरूको उपचार संकटमा परेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘हामीलाई उपलब्ध गराउने विक्रेताले औषधि अभाव भएको भन्दै माग नै नगर्न सूचित गरेको छ,’ आरसी मेडिकलका रामचन्द्र यादवले भने ।
तराईका जिल्लामा पनि उस्तै
तराईका कैलाली र कञ्चनपुरमा पनि नाकाबन्दीले औषधि पाउन मुस्किल भएको छ । धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा सरकारले नि:शुल्क उपलब्ध गराउने अत्यावश्यक औषधिहरू सकिएको छ । स्टोर किपर लक्ष्मीकुमार श्रेष्ठले केन्द्रीय मेडिकल स्टोर पथलिया र काठमाडौंबाट औषधि ल्याउन नसकिएको बताए ।
‘मधेस आन्दोलनले दुई महिनादेखि पथलियाबाट औषधि ल्याउन सकिएको छैन,’ उनले भने, ‘केही औषधि काठमाडौंबाट आउँथ्यो, त्यो पनि इन्धन नभएर ल्याउन सकिएको छैन ।’ उनले सरकारले नि:शुल्क उपलब्ध गराउने अत्यावश्यक औषधि सकिएको बताए । उनका अनुसार अक्सिटोसिन भ्याक्सिन, मेट्रोनिडाजोल टेव, एन्टासिट टेव, हायोसिन टेव, गामावेन्जिन मल्हम, एमोक्सिसिलिन क्याप २५० एमजी, सर्जिकल ग्लोब्स, क्लोरफेनिरामिन टेव लगायतका २० भन्दा बढी औषधि सकिएको छ ।
क्षेत्रीय मेडिकल स्टोरमा मौज्दात भएको केही औषधिसमेत ढुवानी समस्याले जिल्लामा पठाउन नसकिएको स्टोर किपर श्रेष्ठले बताए । ‘जिल्लाहरूबाट औषधिको माग बढ्न थालेको छ,’ उनले भने, ‘यस्तो अवस्था छ । कहाँबाट कसरी पठाउने ।’ उनले औषधि आपूर्ति र ढुवानीको समस्याबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराएको बताए ।
सरकारले यसै आर्थिक वर्षदेखि ७० वटा औषधि नि:शुल्क उपलब्ध गराउने नीति लिएको छ । तर, अहिलेसम्म ४० थरीका औषधि मात्रै अस्पतालहरूमा दिइँदै आएको छ । त्यो पनि अहिलेको नाकाबन्दी, बन्द, हडताल र इन्धन समस्याले उपलब्ध हुन नसकेको हो ।
कञ्चनपुरमा पनि सिटामोल लगायतका अत्यावश्यक औषधि सकिन लागेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारले नि:शुल्क वितरण गर्ने भनेको ३५ वटा औषधिमध्ये अधिकांश सकिएका छन् । ‘नयाँ आर्थिक वर्ष सुरु भएयता औषधि आयात हुनै सकेको छैन,’ जिल्ला जनस्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘पुरानो मौज्दात पनि अन्तिम अवस्थामा पुगेको छ ।’ उनका अनुसार बिरामीले नि:शुल्क पाउने भनेका औषधिको अभाव भइसकेको छ । औषधि व्यवसायीका अनुसार दीर्घरोगीका लागि आवश्यक औषधि पाउन सकिएको छैन । खास गरी दम, मधुमेहलगायत लामो समयसम्म सेवन गर्नुपर्ने औषधिहरू पाउनै मुस्किल भएको औषधि व्यवसायी संघ कञ्चनपुरका सदस्य गजेन्द्र लेखकले बताए । ‘इन्जेक्सनमार्फत प्रयोग हुने औषधि पाउनै सकिएको छैन, जुन अधिकांश भारतीय कम्पनीका हुन्,’ उनले भने ।
[डडेलधुराबाट डीआर पन्त, बैतडीका खगेन्द्र अवस्थी, बाजुराबाट अर्जुन शाह, धनगढीका मोहन बुढाऐर र कञ्चनपुरबाट भवानी भट्टको रिपोर्ट ।]
‘सिटामोलसमेत छैन’
काभ्रे -भारतीय नाकाबन्दीका कारण औषधि अभाव भएपछि काभ्रेमा सिटामोल र आइरन चक्कीसमेत पाइन छाडेको छ । जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी नारायण केसीका अनुसार औषधि अभावले स्वास्थ्य समस्या गम्भीर बन्दै गएको छ । ‘सबै स्वास्थ्यचौकीमा औषधि पठाउन सकिएको छैन,’ उनले भने, ‘मौज्दातबाट थोरै परिमाणमा पठाउने गरेका छौं, त्यो पनि केही दिनमा सकिने अवस्था छ ।’
औषधिको होलसेल कारोबार गर्दै आएका बनेपा मेडी स्टोरका सञ्चालक महेश कायस्थले सामान्यदेखि जटिल रोग सम्मका सबैखाले औषधि अभाव भएको बताए । ‘भारतीय कम्पनीका आउनै छोडिसके,’ उनले भने, ‘नेपाली कम्पनीले पनि कच्चा पदार्थ अभावका कारण भन्दै उत्पादन गर्न सकेका छैनन् ।’ उनका अनुसार, बच्चाका लागि प्रयोग हुने सिटामोल, खोकीको औषधि अभाव छ । मुटु रोगीका लागि प्रयोग हुने औषधि पनि बजारमा छैन । एन्टिबायोटिक औषधि पनि सकिने अवस्थामा छन् । शंखुपाटीचौर स्वास्थ्यचौकीका इन्चार्ज दीपक घिमिरेले औषधि अभावमा स्वास्थ्य सेवा प्रभावित भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा. राजेन्द्रप्रसाद साहले इन्धन अभावमा मौज्दात औषधिसमेत ढुवानी गर्न नसकिएको बताए । डाँडापारि, कोसीपारि, तिमाल, दाप्चालगायत क्षेत्रमा एम्बुलेन्स वा यातायात सुविधा नहुँदा बिरामीले सेवा पाउन सक्ने अवस्था छैन । ‘गम्भीर बिरामीलाई पनि अस्पताल पठाउन सकिएको छैन,’ कोसीपारि क्षेत्रको नाग्रेगगर्चे स्वास्थ्यचौकीका इञ्चार्ज बद्री भण्डारीले भने ।
EmoticonEmoticon