एमाले–एमाओवादी मिल्ने हल्ला बेकार : महासचिव महरा शिवप्रसाद उप्रेती |





विस्तारबादीको इशारामा बाबुरामको नयाँ शक्ति 
गोरखा : एनेकपा माओवादीका महासविच कृष्णबहादुर महराले एमाओवादी र एमाले पार्टी एकीकरण हुने हल्ला ‘बेकार’ भएको बताएका छन् । 

दुई पार्टी एकीकरणको अन्तिम तयारीमा रहेको भन्ने हल्ला आइरहेकाले यसमा विश्वास नगर्न उनले आग्रह गरे । 

उनले क्रान्तिकारी बिचार भएका बामपन्थीहरुको मोर्चा भने हुनसक्ने बताए । एमाओवादी गोरखाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव महराले पार्टी एकीकरण नभई राष्ट्रवादी ध्रुवीकरण भने हुन सक्ने बताए ।

‘एमाओवादी र एमाले एकीकरण हुँदैछ भन्ने जुन हल्ला फैलिएको छ, त्यो बेकार छ’ उनले भने, ‘बरु सबै पार्टीका देशभक्त शक्तिहरुको ‘ध्रुवीकरण’ भने हुनसक्छ । यसमा एमाले, कांग्रेसका क्रान्तिकारी विचार भएका शक्तिहरु एकजुट हुनसक्छन् । अरु एकजुट हुन सक्दैनन् ।’ 
 
समाजवादलाई गन्तब्य बनाउने हैसियत राख्नेहरुको धु्रवीकरण हुने उनले बताए । ‘पहिले नयाँ जनवादी क्रान्ति पूरा गरी साम्यवादसम्म पुग्ने माओवादीहरु एक ठाममा हुने, त्यसपछि साम्यवादसम्म पुग्ने हैसियत राख्ने पार्टीहरु एक ठाममा हुने अनि सबै पार्टीका देशभक्तहरु एक ठाममा हुने भई देशभक्त धु्रवीकरण हुने सम्भावना छ’ उनले भने ‘यसको बिपरीत उद्देश्य राखेर बाबुरामजीहरुको शक्तिको ध्रुवीकरणको पनि तयारी भइरहेको छ ।’ 

उनले बाबुराम भट्टराईले बिस्तारवादी र साम्रज्यवादीको इशारामा नयाँ शक्तिको हौवा पिटाएको आरोप लगाए । 

‘हुन त यो अनुमान मात्र हो, प्रमाण दिन सकिँदैन, बिस्तारवादी र साम्राज्यवादीको इशारामा बाबुरामजीहरुले नयाँशक्तिको हल्ला गर्दै हिँडेका हुन्’ उनले भने, ‘बाबुरामजीले हाम्रो अध्यक्ष प्रचण्डसंग भेटेर मंसिर चार गते नयाँ शक्तिको राष्ट्रिय भेलामा नयाँ पार्टी गठन नहुने बताइसकेका छन् ।’ 

नयाँ शक्तिमा समेटिने भनेर पूर्वअनुमान गरिएका व्यक्तिबीच नै तालमेल नमिलेको उनले दाबी गरे । 

अर्को फरक प्रसंगमा महासचिव महराले कोशी र कर्णाली छुने गरी सीमांकन भएपनि भारतको चाहना अनुसार नहुने बताए । 

‘कोशी र कर्णाली नदी छुने गरी सीमांकन गर्ने बिषयमा मधेशी मोर्चासँग सहमति भएको छ’ उनले भने ‘तर इण्डियाले चाहेअनुसार यी दुई नदीलाई उसले उपयोग गर्न सक्दैन । किनभने यसमा प्रदेश सरकारको मात्र होइन केन्द्रीय सरकारको पनि उत्तिकै हात हुन्छ ।’

Previous
Next Post »