वीरगन्ज: छठ पर्वको मुख्य दिन मंगलवार साँझ ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएर छठी माताको पूजा अर्चना गरेका छन् । मंगलवार वीरगन्जका विभिन्न नदि र पोखरी लगायतका जलाशयहरुमा तयार पारिएको छठ घाटहरुमा अपरान्ह देखि नै ब्रतालु एंव भक्तजनहरुको घुइचो लागेको थियो ।
वीरगन्जको घडीअर्वा , रानीघाट , छपकैया , मुर्ली , नगवा , पिपरा , रामगढवा , इनर्वा लगायतका स्थानमा रहेका जलाशयहरु छठ पूजाका लागि निक्कै आकर्षक रुपमा सजाइएको छ ।
वीरगन्जमा घडीअर्वा पोखरी परिसरको छठघाट अत्यन्तै आकर्षक रुपमा सजाएर झकिझकाउ पारिएको छ । सजावट र व्यवस्थापनमा मात्रै यसपाली करिब १२ लाख रुपैया खर्च गरिएको घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष प्रेम साह कानुले बताए ।
मंगलबार साँझ मात्रै घडीअर्वा छठघाटमा झण्डै एक लाख ५० हजार ब्रतालु र भक्तजनहरुले छठी माताको पुजापाठ र दर्शन गरेको कानुले बताए । २० हजार त छठको ब्रत गर्ने ब्रतालु महिलाहरु मात्रै थिए , उनले भने , बुधार बिहान पनि यत्तिक्कै हाराहारीमा ब्रतालु र भक्तजनहरु आउने अनुमान छ ।
बुधार बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजाअर्चना गरे पछि यसपालीको छठ पर्व विधिवत रुपमा समापन हुनेछ । तराइवासीको चाड भनिए पनि वीरगन्जमा पहाडी समुदायका महिलाहरुले पनि छठ पूजा गरेका छन् ।
मंगलवार साँझ घडीअर्वा छठ घाटमा छठको ब्रत लिएर पूजापाठ गर्नेहरुमा पहाडी समुदायका महिलाहरु पनि उल्लेख्य संख्यामा थिए । उनिहरुले मधेशी समुदायका ब्रतालु मलिाहरु जस्तै पोखरीको पानीमा उभिएर पूजन सामाग्री सहित अस्ताउदो सुर्यलाइ अर्घ दिएर निष्ठापूर्वक छठी माताको पूजा अर्चना गरे ।
सन्तान र पतिको दीर्घायुको लागि छठको ब्रत लिएको हुँ, ,मंगलबार साँझ घडीअर्वा घठघाटमा छठी माताको पूजा अर्चना गर्दै गरेको अवस्थामा भेटिएकी वीरगन्ज ब्रम्हचोककी विना शर्मले भनिन्, ‘छठी माइले मेरो हरेक मनोकामना पुरा गर्नुभएको छ , मलाइ छठी माताप्रति अगाध आस्था र विश्वास छ ।
हुन त छठ तराइवासीको मात्रै चाड भन्थे , तर अब त पहाडी मुलका पनि थुप्रै महिलाहरुले मनाउन थालेका छन् , उनले भनिन् । यस्तै एक दशक देखि छठको ब्रत बसेर छठ पूजा मनाउदै आएकी वीरगन्ज घडीअर्वाकी सानीमाया मरहठठा यसपाली पनि छठको ब्रत लिएकी छन् ।
यो पर्वको नियम अरु चडबाड भन्दा बढि कडा छ , अलि कति पनि चुक गर्नु हुदैन , नत्र अनिष्ट भइ हाल्छ , उनले भनिन् , त्यसैले मैले हरेक विधी र कर्म निक्कै सावधान भएर गर्दै आएको छु ।
EmoticonEmoticon