बंगलादेश पनि नेपाललाई तेल दिन तयार, ग्यास भने नदिने



Nepal-And-Bangladesh-Oil
३ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव सामना गरिरहेको नेपाललाई तेल बेच्न बंगलादेश तयार भएको छ । साथै उसले सरकारी तहमा नै इन्धन आपूर्तिका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको छ ।
भारतले नाकाबन्दी गर्दै तेल रोकेपछि नेपालले उत्तरी छिमेकी मुलुक चीनबाट तेल ल्याउने समझदारी गरिसकेको छ । साथै विकल्पको खोजीमा नेपाल आयल निगमको टोली बंगलादेश समेत गएको थियो ।
नेपाललाई पेट्रोलियम पदार्थ बिक्री बंगलादेश गर्न सैद्दान्तिक रुपमा तयार भएको नेपाली टोलिको नेृतृत्वकर्ता आयल निगमका कार्यकारी निर्देशक मकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
नेपाली टोलीले ढाकामा आयल निगम र बंगलादेश पेट्रोलियम कर्पोरशन (बीपीसी) बीच तेल कारोबारबारे छलफल गरेको थियो । छलफलमा बंगलादेशका अधिकारीहरुले इन्धन कारोबारबारे सरकारी तहमा छिट्टै समझदारी (एएओयु) मा हस्ताक्षर हुनुपर्नेमा जोड दिएको घिमिरेले बताए ।
बीपीसीले व्यापारिक सम्झौता भए नेपाललाई डिजेल, पेट्रोल र हवाइ इन्धन उपलब्ध गराउन सकिने बताएको छ । साथै बीपीसी तत्कालको संकट टार्न एयरलिफ्टमार्फत हवाइ इन्धन नेपाल पठाउन तयार देखिएको छ ।
भविष्यमा डिजेल र पेट्रोल स्थलमार्ग हुँदै नेपालले खरिद गर्ने इच्छा देखाएमा बिक्री गर्न समस्या नहुने बताएको घिमिरेले जानकारी दिए ।
ग्यास भने दिन नसक्ने
सरकारी स्वामित्वमा रहेको बीपीसीले नेपालका लागि खाना पकाउने एलपीजी ग्यास भने दिन नसक्ने बताएको छ । बंगलादेशमा ग्यासको उत्खनन् निकै कम भएकाले सरकारी तवरबाट ग्यास दिन नसकिने उसले बताएको छ ।
तर, ग्यास आयातमा संलग्न बंगलादेशी निजी कम्पनीहरुसँग सहकार्य गर्न चाहे सहयोग गर्ने आश्वासन बीपीसीले दिएको छ । बंगलादेश पेट्रोलियम पदार्थ दिन तयार भएकाले बाणिज्य मन्त्रालयमार्फत अब एमओयु र ब्यापारिक सम्झौताको लागि तयारी सुरु गर्ने आयल निगमका प्रवक्ता घिमिरेले अनलाइनखबरलाई बताए ।

Previous
Next Post »