ओलाण्डद्वारा आइएसलाई नष्ट पार्ने प्रतिबद्धता


  • 18 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightAFP
Image captionओलाण्डले सिरिया र इराकमा आइएसविरुद्धको हवाई आक्रमणमा तीव्रता दिइने बताएका छन्।
प्यारिस आक्रमणपछि फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले इस्लामिक स्टेट समूहलाई नष्ट पार्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएका छन्।
उनले जारी संकटकाललाई थप तीन महिना लम्ब्याउनेबारेको एउटा विधेयक पेश गर्ने बताए।
ओलाण्डले संविधानमा परिवर्तनका लागि सुझाव समेत दिने बताएका छन्।
फ्रान्सले इस्लामिक स्टेटविरुद्ध इराक र सिरियामा गर्दै आएको कारवाहीलाई तीव्र पनि पार्नेछ।

निर्मूल

उनले भने, “हामीले आतंकवादलाई निर्मूल पार्नेछौँ ताकि बाटो देखाउँदै फ्रान्स अगाडि बढ्न सकोस्, आतंकवादले गणतन्त्रलाई ध्वस्त पार्न सक्नेछैन् किनकि गणतन्त्रले आतंकवादलाई ध्वस्त पार्नेछ।”
१२९ जनाको ज्यान जाने गरी प्यारिसमा बार, रेष्टुराँ, एउटा कन्सर्ट हल र एउटा रंगशालामा गरिएका आक्रमणको आइएसले जिम्मेवारी दाबी गरेको छ।
दुवै सदनको संयुक्त बैठकलाई संबोधन गर्दै ओलाण्डले संकटकालको विकल्प नअपनाएरै आवश्यक कदम चाल्न सक्ने गरी संविधानमा संशोधन आवश्यक रहेको बताए।
त्यसबाहेक ओलाण्डका अनुसार आगामी दुई वर्षमा थप पाँच हजार प्रहरी चौकीहरु स्थापन गर्नुपर्ने र बजेटमा कटौती नगरिने व्यवस्था गरिनेछ।

देश निकाला

साथै राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भएका विदेशीहरुलाई देश निकाला गर्ने प्रक्रियामा तीव्रता दिईनेछ भने हातहतियार तस्करीविरुद्ध थप कदम चाल्न युरोपमाथि दबाब श्रृजना गर्नुपर्ने र त्यस्ता गतिविधिमा संलग्नलाई फ्रान्समा ठूलो सजाय दिनुपर्ने व्यवस्था गरिनेछ।
ओलाण्डले आउँदा दिनहरुमा अमेरिकी राष्ट्रपति बराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेर आइएसविरुद्ध चालिने कदबारे छलफल गर्ने बताए।
अमेरिकाको पुरानो मित्र फ्रान्सप्रति समर्थन जनाउनका निम्ति अमेरिकी विदेशमन्त्री जन केरी सोमबार प्यारिस पुगेका छन्।
Previous
Next Post »