न्युर्योक: भारतीय नाकाबन्दीले नेपालको जनजीवन अस्तव्यस्त भएको भन्दै अमेरिकामा रहेका नेपालीले न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
दुई महिनादेखि नाकाबन्दीका कारण नेपालमा इन्धन, औषधि लगायत अत्यावश्यक उपभोग्य वस्तुहरुको अभाव भएको र नेपाली जनताले अत्यन्तै कठिन परिस्थिति झेल्नु परेको भन्दै तत्काल नाकाबन्दी हटाउन माग गरिएको छ।
भारतले नेपाल प्रति गरेको ज्यादती माथि विश्वको ध्यान आकृष्ट गर्ने उदेश्यले राष्ट्रसंघको मुख्य कार्यालयबाहिर प्रदर्शन गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएन एनसीसी) अमेरिकाका अध्यक्ष डाक्टर केशब पौडेलले जानकारी दिए।
‘नेपालमा लगाइएको नाकाबन्दी तत्काल खुलाउन सहयोग गरिदिन अपिल गर्दै प्रदर्शन गरेका हौं' पौडेलले भने। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएन आइसिसी), एनआरएन एनसीसी, अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली संघसंस्थाको आयोजनामा गरिएको प्रदर्शनमा संयुक्त राष्ट्रसंघका महासचिब बान्की मुनलाई ज्ञापन पत्र बुझाइएको छ।
नेपालमा संविधान जारी भए लगत्तै भारतले अघोषित नाकाबन्दी गरी नेपाली जनतामाथी ज्यादती गरेको र भूकम्पले भत्काएको नेपाललाई झनै समस्यामा पारेको र मानब अधिकारको गम्भीर उलङ्घन गरेको भन्दै भारत बिरुद्ध नाराबाजी गरिएको थियो।
प्रदर्शनमा अमेरिका भ्रमणमा रहेका गायक रामकृष्ण ढकाल तथा हास्य कलाकार मनोज गजुरेलको पनि सहभागीता थियो। यसैगरी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस अगाडि समेत विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ।
EmoticonEmoticon