४ मंसिर, काठमाडौं ।ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेका अभियुक्तलाई अदालतले सामान्य धरौटीमै छाड्न थालेको छ । काठमाडौं जिल्ला अदालतले लागुऔषध कारोबारीलाई सामान्य धरौटीमा छाड्न थालेपछि प्रहरी अधिकारीहरूले असन्तुष्टि जनाएका छन् ।
गत साउनयता काठमाडौं जिल्ला अदालतले ठूलो मात्रामा चरेससहित पक्राउ परेका एक दर्जन अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएको छ । यसअघि लागुऔषध मुद्दामा पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा राख्ने आदेश हुने गरेको नयाँ पत्रिकामा खबर छ ।
पाँच किलो पाँच सय ४४ ग्राम चरेससहित पक्राउ परेका एक अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले गत २६ असोजमा ५५ हजार रुपैयाँ धरौटीमै छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । उनले नेपाली कागजको डायरीमा लुकाएर उक्त चरेस दिल्ली पठाउन खोजेका थिए । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले उनलाई ९ भदौमा एयरपोर्टबाट पक्राउ गरेको थियो । निकै दु:ख गरेर एक कारोबारीलाई पक्राउ गरेकोमा धरौटीमै छुटेपछि आफूहरू निराश भएको एक प्रहरी अधिकारीले बताए ।
यस्तै, नौ किलो तीन सय ग्राम चरेससहित पक्राउ परेका भीमकुमार राईलाई पनि २५ हजार धरौटीमा छाडिएको छ । कुमारीपाटीस्थित ब्लु स्टार कार्गोका सञ्चालक राईलाई एनसिबीले चरेससहित २२ असारमा पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अच्युत विष्टले उनलाई गत १६ भदौमा २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हुन् ।
EmoticonEmoticon