नाकाबन्दीले रोक्यो निःशुल्क दमकल

23 Nov 2015 | 08:41am


  • नाकाबन्दीले रोक्यो निःशुल्क दमकल
काठमाडौं- अमेरिकी एक संस्थाले जुद्ध वारुण कार्यालय काठमाडौंलाई दिएका करोडौं मूल्यका ४ वटा निःशुल्क दमकल लगायत अग्नि नियन्त्रणका सामग्री भारतीय नाकाबन्दीका कारण आउन पाएका छैनन्। मंसिर १९ मा काठमाडौंमै ल्याउने तयारी नाकाबन्दीका कारण अनिश्चित बनेको हो।
कार्यालय प्रमुख किशोरकुमार भट्टराईका अनुसार अमेरिकी सर्भे इन्स्टिच्युट फर डेभलपमेन्टले अग्नि नियन्त्रणका लागि प्रयोग हुने ४ दमकल, २ वटा अग्लो ठाउँमा जोखिम कम गर्ने भर्या्ङयुक्त गाडी, २ वटा गह्रौं सामग्री धकेल्ने क्याट लोडर लगायत सामग्री दिने भएको छ। 'पछिल्लो योजनाअनुसार ५ डिसेम्बरमा नेपाल आउने तयारी थियो,' उनले भने, 'यो असफल भइसक्यो। त्यहाँ पुग्न करिब डेढ महिना लाग्छ।'

नाकाबन्दीको समस्या समाधान नभएसम्म उनीहरुले नपठाउने जानकारी दिएको उनले जनाए। 'हामीले नाकाबन्दीको समस्या कहिले अन्त्य हुन्छ भन्न सकेका छैनौं,' उनले भने, 'त्यही कारण सामग्री अमेरिकाबाट ल्याउने टुंगो भएन।'

सो संस्थाले कार्यालयकै लागि भनेर ठूलो टोलीका साथ दमकल नेपाल पठाउन लागेको उनले बताए। 'उनीहरुले कलकत्तासम्म ल्याउने खर्च पनि बेहोर्छन्,' भट्टराईले भने, 'साथै सञ्चालन गर्न सहयोग गर्नेहरुसहितको टोली आउने संस्थाले जानकारी दिएको छ।'

भट्टराईले कार्यालयका तर्फबाट प्रयास गरेर यसरी दमकल ल्याउन सफल भएको बताए। सम्झौता भएको करिब तीन महिना बितिसक्दा पनि ल्याउने टुंगो लाग्न नसक्दा समस्या भएको उनले बताए। उनी करिब एक महिनाअघि अमेरिका पुगेर दमकल पनि बुझेका थिए। साथमा उनले दमकल चलाउने प्राविधिक जानकारी पनि लिएका थिए।

कार्यालयमा रहेका ४ दमकलमध्ये अहिले दुई वटा मात्र राम्ररी काम गर्न सक्ने अवस्था रहेकामा यी दमकल निकै लाभदायक हुने उनले बताए। 'हामीसँग अहिले संख्यामा भन्दा ४ र काम गर्ने २ मात्र हुन्,' उनले भने, 'नयाँ आउनेले क्षमता विस्तारमा पनि सहयोग पुर्यााउँछ।'
Previous
Next Post »