६ नेपाली युवतीको उद्धार



  • मङ्गलबार १ मंसिर, २०७२

कोहलपुर–भूकम्प प्रभावित सिन्धुपाल्चोकका छ जना युवतीलाई भारत हुँदै खाडी मुलक लैजाने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले उद्धार गरेको छ।
सिन्धुपाल्चोक घर भई काठमाडौंमा अस्थायी रुपमा बस्दै आएका ६ युवतीलाई सोमबार भारतीय रुपैडिहा नाकाबाट एसएसबीले उद्धार गरेको हो । ती युवतीको साथमा गएका सुर्खेत मैनतडाका दिपक विकसमेत पक्राउ परेका छन्। पक्राउ परेका युवाको विस्तृत जानकारी प्रहरीले खुलाउन चाहेको छैन्। उनीहरुलाई रोजगारीका लागि भारत हुँदै खाडी पुर्याउन दलालको गिरोहले रुपैडिहा नाका प्रयोग गरेको पुष्टि भएको छ। उद्धार गरिएका आमाछोरी, दिदिबहिनी समेत छन्।

आइतबार राति नेपालगन्ज बसपार्क आइपुगेका उनीहरु रुपैडिहाका लागि रिक्सामा जाँदै गर्दा एसएसबीले पक्राउ गरेको थियो। उद्धार गरिएका युवतीलाई जमुनाहस्थित माइती नेपालको जिम्मा लगाएको छ। पक्राउ परेका युवालाई बाँके प्रहरीको जिम्मा लगाएको छ। उद्धार गरिएका युवतीमा तीन जना १९ वर्ष मुनिका किशोरी र तीन जना ४० वर्ष माथिका रहेको माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए। कोइरालाका अनुसार भूकम्पबाट प्रभावित भई काठमाडौंमा अस्थायी रुपमा बस्दै मजदुरी गर्दै आएका थिए । उनीहरुलाई दलालले दिल्ली हुँदै खाडी मुलक पुर्याउने र राम्रो काममा लगाउने आश्वसन दिएका थिए । उद्धार गरिएका किशोरीलाई माईती नेपालको सेल्टरमा राखिएको छ । पक्राउ परेका दिपक विकले भने आँफूले चार हजार रुपैँयामा सहयोगी काम गरेको स्वीकार गरेका बाँके प्रहरीले जनाएको छ ।

छ युवतीलाई भारतीय लैजान सहयोगी रहेका मुख्य गिरोहका दलाल काठमाण्डौका प्रदिप श्रेष्ठ भने फरार रहेका छन् । उनी नेपालगन्ज बसपार्कबाट फरार भएको प्रहरीले जनायो । मुख्य दलालको खोजीकार्य जारी छ । उसले प्रयोग गर्ने एलसेनको नम्बरबाट विस्तृत जानकारी लिने प्रयास प्रहरीले गरेको छ ।

Previous
Next Post »