२०७२ मङ्शिर ३ बिहीवार
काठमाडौं: भारतले अघोषित नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको आपत्कालीन सहयोगका लागि गरेको आग्रह स्वीकार गर्दै उत्तरी छिमेकी चीनले पेट्रोलियम पदार्थ आपूर्ति गर्न नेपालसँग व्यापारिक निरन्तरताको प्रतिबद्धता खोजेको छ।
२०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा पनि यस्तै सहयोगका लागि आग्रह गरिएको तर त्यसलाई निरन्तरता नदिएको भन्दै चीनले यसपटक वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष व्यापारिक निरन्तरताका लागि प्रतिबद्धता मागेको हो। नेपाल र चीनबीच पेट्रोलियम पदार्थ आपूर्तिका लागि गत कात्तिक ११ गते बेइजिङमा भएको समझदारीपत्रमा नेपाललाई आवश्यक इन्धनको एकतिहाइ चीनबाट आपूर्ति गर्ने उल्लेख छ।
नेपाललाई हवाई इन्धन दैनिक तीन सय किलोलिटर, पेट्रोल तीन सय किलोलिटर, डिजेल तीन सय ५० किलोलिटर र एलपी ग्यास दैनिक २२ हजार मेट्रिक टन आवश्यक पर्छ।करिब १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको चीनले इन्धन आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सघाउने चाहना पनि व्यक्त गरेको छ।
झन्डै एक साता लामो अनौपचारिक भ्रमण गरी चीनबाट फर्किएका मन्त्री पुनले बुधबार अन्नपूर्णसँग भने, 'दीर्घकालीन हिसाबले तेल आपूर्तिका लागि वातावरण बनेको छ।' अनौपचारिक रूपमा हङकङ हुँदै बेइजिङ पुगेका मन्त्री पुनले चिनियाँ कम्युनिस्ट पार्टीका नेतामार्फत त्यहाँको आपूर्ति मन्त्रालयका अधिकारीसँग छलफल गरेका थिए।
भारतबाट आपूर्ति भइरहेको भन्दा चीनबाट आपूर्ति हुने इन्धन महँगो पर्न नदिन आफूले चिनियाँ अधिकारीलाई कर मिनाहा गरिदिन अनुरोध गरेको पुनले बताए। 'कति मिनाहा गर्छन् त्यो आगामी दिनमा देखिएला तर ट्याक्स फ्री भएर आपूर्ति हुने सम्भावना छ,' उनले भने, 'भारतले उपलब्ध गराउने भन्दा धेरै अन्तर नहुने गरी चीनबाट इन्धन आपूर्ति हुने आश्वासन पाएको छु।'
पुनले इन्धन आपूर्तिका लागि व्यापारिक सम्झौता गर्न केही दिनभित्रै नेपाल आयल निगमको टोली चीन जाने जानकारी पनि दिए। उनका अनुसार एक सातापछि सहज रूपमा इन्धन आपूर्ति हुनेछ।इन्धन आपूर्तिका लागि सम्झौता गर्न जानुअघि वाणिज्य तथा आपूर्ति, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारी नियमित छलफलमा छन्।
नेपाल आयल निगमले बुधबार चीनसँग व्यापारिक सम्झौतासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पत्रका आधारमा बिहीबार मन्त्रालयले टोली गठन गरेर चीन पठाउने भएको छ।
चीनले इन्धन आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सघाउने चाहना पनि व्यक्त गरेको छ।
चीन सरकारको स्वामित्व रहेको पेट्रो चाइनाले दुईपक्षीय व्यापारिक सम्झौता गर्न आउन मन्त्री पुन बेइजिङमा रहेकै बेला सोमबार निगमलाई पत्राचार गरेको थियो । पुनले चीनबाट इन्धनका साथै सहज रूपमा ग्यास ल्याउन सकिने दाबी पनि गरे। उनका अनुसार भूकम्पले क्षति पुर्याएको तातोपानी नाका सञ्चालन गरी ग्यास ल्याउन सकिनेछ।
'पूर्वाधार निर्माणमा पनि उहाँहरूले चासो राख्नु भएको थियो,' मन्त्री पुनले भने। उनका अनुसार चिनियाँ अधिकारीको एक टोलीले तातोपानी नाका निरीक्षण गरिसकेको छ।मन्त्री पुनले इन्धन आपूर्तिका लागि बंगलादेश सरकारसँग भइरहेको छलफल पनि सकारात्मक रहेको बताए। (चीनले व्यापारिक सम्झौता गर्न बोलायो निगमलाई)
बंगलादेशबाट स्थलमार्गमार्फत आपूर्ति गर्दा भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। भारतले सडक मार्गमा अवरोध पुर्याएको अवस्थामा हवाईजहाजबाट भए पनि इन्धन आपूर्ति गरिने योजना पनि मन्त्री पुनले सुनाए। 'यसबारे बंगलादेशका प्रधानमन्त्रीसँग छलफल भइरहेको छ' उनले भने।
इन्धन आपूर्तिबारे छलफल गर्न ढाका गएको नेपाल आयल निगमको टोली बिहीबार फर्कंदैछ। निगमका कार्यबाहक नायब प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार बुधबार बंगलादेश पेट्रोलियम कर्पोरेसनका अधिकारी र नेपाली अधिकारीबीच छलफल भएको छ।
EmoticonEmoticon