डेढ अर्बको औषधि पाँच महिनादेखि विमानस्थलमै थन्कियो


२०७२ मंसिर ४ गते ६:३६ मा प्रकाशित
medicine
४ मंसिर, काठमाडौं । भूकम्पका घाइतेको उपचारमा सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा थन्किएको छ । एक प्रतिशत भन्सार महसुल तिर्न नसक्दा ठूलो परिमाणको औषधि भन्सारमा थन्किएको हो ।
त्यसमध्ये करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतको नाकाबन्दीले बजार र अस्पतालमा अभाव हुन थालेपछि मन्त्रालयले औषधिको मौज्दात खोजी गर्ने क्रममा विमानस्थलमा रोकिएको औषधिबारे पुन: चासो देखाएको छ । रोकिएको औषधि शून्य भन्सार दरमा छुटाउने वा शुल्क तिर्ने भन्नेबारेमा अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको उसले जनाएको नयाँ पत्रिकामा खबर छ ।
गत असार तेस्रो सातापछि भूकम्पपीडितलाई सहयोग पुर्‍याउन भन्दै अमेरिकी गैरसकारी संस्था होप प्रोजेक्ट युएसए र अन्य चारवटा संस्थाका नामबाट डेढ अर्बबराबरका महँगा औषधि नेपाल भित्रिएको थियो । त्यतिवेला भूकम्पकै लागि भनिए पनि २० असारपछि प्राप्त औषधिलाई सरकारले एक प्रतिशत भन्सार लिने निर्णय गरेको थियो । ढिलोगरी प्राप्त ती औषधि महसुल एक प्रतिशतको दरले डेढ करोड बढी तिर्नुपर्ने भएपछि मन्त्रालयको आपूर्ति महाशाखाले औषधि ल्याएको थिएन ।

Previous
Next Post »