प्यारिस आक्रमणः प्रत्यक्षदर्शीले जे देखे

श्रृखंलाबद्ध गोली र आत्मघाती बम हमलापछि फ्रान्सको राजधानी प्यारिसमा ज्यान गुमाउनेहरुको संख्या कम्तीमा १२८ पुगेको अधिकारीहरुले बताएका छन्।

उक्त आक्रमणका प्रत्यक्षदर्शीहरुले घटनाबाट स्तब्ध भएको प्रतिक्रिया सञ्चारमाध्यमहरुलाई दिएका छन्।
आक्रमणकारीहरुले बेटाक्लाँ कन्सर्ट हलमा बन्दुक र आत्मघाती आक्रमण गरेका थिए भने जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल खेल भइरहेको स्टे डे फ्रान्स नजिकै पनि विष्फोटको आवाज सुनिएको थियो।
प्यारिसका केही बारहरुमा समेत बन्दुकधारीहरु प्रवेश गरी जथाभावी गोली चलाएका थिए।

‘चारैतिर शव थिए’

युरोप वान रेडियोका पत्रकार जुलियन पियर्स बन्दुकधारीहरुले गोली हान्न शुरु गर्दा बेटाक्लाँ कन्सर्ट हलभित्र थिए।
उक्त रेडियो स्टेशनको वेबसाइटमा प्रकाशित समाचारमा पियर्सले कयौँ सशस्त्र व्यक्तिहरु कन्सर्ट भइरहेको ठाउँमा प्रवेश गरेको र अन्धाधुन्ध गोली चलाएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “मास्क नलगाएका दुई वा तीन जना पुरुषहरु क्यालेशनिकोभ जस्तो देखिने हतियारसहित प्रवेश गरे र जथाभावी भिडमाथि गोली चलाए, त्यो क्रम १० देखि १५ मिनेटसम्म चल्यो।”
त्यहाँको अवस्था एकदमै हिसांत्मक भएपछि सबै जना आत्तिएको उनको भनाई छ।
उनले थपे, “आक्रमणकारीहरुले कम्तीमा ३ पटक आफ्नो हतियारमा फेरी गोली लोड गर्ने अवसर पाएका थिए, उनीहरु निक्कै जवान थिए र त्यहाँ चारैतिर शवहरु मात्र थियो।”

‘एकदमै भयावह’




बेन ग्रान्ट गोली हानाहान भइरहेको समयमा आफ्नी श्रीमतिसँग बारमा थिए।
६ वा ७ जनाको शव भूइँमा देखेका उनीहरुलाई कारबाट गोली चलेको बताइएको थियो।
उनले भने, “त्यहाँ कयौँ मानिसहरुले ज्यान गुमाए, नढाँटी भन्नुपर्दा ज्यादै डरलागेको अवस्था थियो, म बारको पछाडि पट्टि थिए र केही देख्न सकिरहेको थिएन।”
“मैले गोली चलेका आवाजहरु सुनेँ, मानिसहरु भूइँमा ढलिरहेका थिए, हामीले हाम्रो टाउको छेक्न टेबुलको प्रयोग गर्यौ र बाच्ने प्रयास गर्यौँ।”
उनले आफ्ना अगाडि ठूलो संख्यामा शवहरु रहेकाले उनी र उनकी श्रीमतीबारमा नै कैद हुनुपरेको भएको बताए।

‘पटाकाको जस्तो अवाज’

कारडिफ घर भएका जोनाथन हिल हाल प्यारिसमा काम गरिरहेका छन्।
उनले आफूले एकजना पुरुषले मानिसहरुलाई बेटाक्लाँ कन्सर्ट हलतर्फ प्रवेश गराइरहेको देखेको बताए।
“म बेटाक्लाँबाट झन्डै ५० देखी ७० यार्ड टाढा रहेको र मेट्रो स्टेशनबाट बाहिर रहेको एटिएम मेसिनबाट पैसा झिक्दै थिएँ, जब म आफ्नो पैसा संकलन गर्न थालेँ, मैले गोली चलेका तीनवटा आवाज सुनेँ, शुरुमा त मलाई विश्वास नै लागेन कि त्यो साँच्चै बन्दुक चलेको आवाज थियो, किनभने त्यो आवाज शहरको बीचमा पटाका पड्किएको जस्तो थियो।”
उनले झण्डै साढे ६ फिट अग्लो मान्छेले मानिसहरुलाई क्याफेबाट बाहिर नभई भित्र बस्न अनुरोध गरिरहेको आफूले देखेको बताए।
“त्यही बेला मैले अर्को गोली चलेको आवाज सुने र बेटाक्लाँबाहिरको भुइँमा एक जनाले प्राण गुमाएको देखेँ।”

‘त्यहाँ युद्धको अवस्था थियो’



एकजना बन्दुकधारी आएपछि बेटाक्लाँमा सांगीतिक कार्यक्रम हेरिरहेका एक प्रत्यक्षदर्शीले लिबरेशन पत्रिकालाई आफूले देखेका दृश्यको बयान यसरी दिएका छन्।
“त्यो सांगीतिक कार्यक्रममा संगीत निकै ठूलो आवाजमा बजिरहेको थियो, मैलै गोली चलेको आवाज सुनेँ, म अर्कोतर्फ लागेँ, पछाडिपट्टि ढोकामा मैले टोपी लगाएका एकजना मान्छेको छायाँ देखेँ, उसले म भएकोतिर गोली चलायो।”
“मानिसहरु भूइँमा लड्न थाले, मलाई लाग्यो मेरो छेउमा भएको व्यक्ति मरिसक्यो, मलाई लाग्छ यहीं अवस्था हो, म दौडेँ, त्यहाँ राखिएका अवरोधहरुलाई मैले नाघेँ र मञ्च नजिकै रहेको ठूलो समूहसँगै गएँ।”
“हामी एउटा क्याफेमा लुक्यौँ, पहिलो तल्लामा बस्यौँ, हामीले घटनाबारे बताउँदा सबैले तत्कालै पत्याइहाले, त्यहाँ युद्धको अवस्था थियो, केही समय पहिले त्यहाँ गोली चलिरहेको थियो।”
Previous
Next Post »