काठमाडौं:नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरीलाई अवधारणाअनुसार अधिकार सम्पन्न बनाउन माग गरेका छन्।
दसौं महानगरीय प्रहरी दिवस कार्यक्रममा बुधबार सम्बोधन गर्दै उनले भने, ‘उपत्यका प्रहरी कार्यालयका ठाउँमा महानगरीय प्रहरीको बार्डमात्रै टाँसेर हुँदैन, अधिकारसम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउँछु।
'अर्यालले प्रहरी ऐनलाई समयअनुसार परिर्वतन गर्न जरुरी भएको उल्लेख गर्दै उपत्यकामा जनसंख्या तीव्र वृद्धिका साथै अपराधको संख्या तथा प्रवृत्ति पनि बदलिँदै गएको सन्दर्भमा महानगरीय प्रहरी प्राविधिक रूपमा सक्षम र व्यावसायिक हुनुपर्नेमा जोड दिए। 'काठमाडौंमा अब सामान्य प्रहरीले काम गर्न सक्दैन, अपराधको विशिष्टता छ। अबको १० वर्ष पनि प्रहरीले अधिकारै माग्नुपर्यो भने के अवस्था होला?' अर्यालले प्रश्न गरे। (अझै सीडीओ कै आदेश कुर्दै महानगरीय प्रहरी)
गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले भूकम्पमा प्रहरीले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै समयानुकूल प्रहरीलाई दक्ष र व्यावसायिक बनाउनुपर्ने बताए। 'भूकम्पमा विदेशबाट आएका चार हजार विशेषज्ञले १६ जनाको उद्धार गरे भने नेपाल प्रहरीले सयौंको संख्यामा उद्धार गरे।
प्रहरीको कार्यक्षमता र दक्षताअुनसार गृह मन्त्रालय आवश्यक स्रोतसाधन जुटाउन तयार छ,' ढकालले भने।
कार्यक्रममा उपत्यकामा उत्कृष्ट कार्य गरेबापत महानगरीय प्रहरी परिसर टेकुका डीएसपी रेवती ढकाल, गौशाला वृत्तका डीएसपी सुरेन्द्रप्रसाद मैनाली, प्रहरी निरीक्षक टीकाराम रेग्मी, प्रहरी नायब निरीक्षक एकराज पन्त, हबल्दार धर्मराज थापा र जवान कुमारबहादुर कार्कीलाई नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले नागरिकसँंगको समन्वयमा महानगरीय प्रहरीले कामकारबाही अगाडि बढाएको बताए।
EmoticonEmoticon