काठमाडौं: सरकारले इन्धनका लागि दाउरा प्रशस्तै रहेको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।
भारतीय नाकाबन्दीले बढेको इन्धन संकटको तत्कालीन समाधानका लागि सरकारले आइतबारदेखि उपत्यकावासीलाई दाउरा वितरण गर्न थालेको हो। आइतबारको तुलनामा सोमबार दाउरा लिन सर्वसाधारणको लाम व्यवस्थित र सहज थियो।
कुपन लिएर जाने क्रम भने चलिरहेको टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन) ले जनाएको छ।पहिलो चरणमा काठमाडौं ल्याइएको दाउरामध्ये अझै आधाभन्दा बढी गोदाममा मौज्दात रहेको जानकारी टीसीएनले दिएको छ।
यसैगरी तराईका जिल्लाबाट थप दाउरा ल्याउने क्रम पनि जारी छ । टीसीएनले सोमबार पशुपति आर्यघाट डिपोबाट करिब १४ हजार किलो तथा बालकुमारीबाट १६ हजार किलो दाउरा वितरण गरेको छ।
आइतबार कुपन लिएर जानेले सोमबार दाउरा लिएको तथा नयाँ कुपन र दाउरा लिन आउनेको संख्या पनि बढेको टीसीएनका महाप्रबन्धक वीरेन्द्र यादवले बताए।आर्यघाटस्थित टीसीएन डिपोका प्रमुख सुरेश रिजालले आगामी दिनमा दाउरा लिने प्रक्रिया थप सहज र झन्झटमुक्त बनाउने बताए।
'हिजो पहिलो दिन कसरी वितरण गर्ने भन्ने अलमल पनि भो, अब व्यवस्थित हुन्छ,' रिजालले भने।उनका अनुसार आवश्यकताअनुसार संघसंस्थाहरूलाई पाँच सयदेखि एक हजार किलोसम्म दाउरा वितरण गरिएको छ।
टीसीएनले बारा र नवलपरासीबाट पहिलो चरणमा एक लाख ६ हजार एक सय ७० किलो दाउरा ल्याएको छ। थप दाउरा ल्याउने प्रक्रिया अघि बढिसकेको वन मन्त्रालयले जनाएको छ।
बाराबाट २५ र नवलपरासीबाट १७ चट्टा (करिब तीन लाख किलो) दाउरा काठमाडौं आउने प्रक्रियामा छ।वन कार्यालयको प्रक्रिया पूरा भइसकेकाले चाँडै दाउरा काठमाडौं भित्रिने जानकारी यादवले दिए।
वन मन्त्रालयले सर्वसाधारणको माग भइरहे १८ लाख किलोसम्म दाउरा उपलब्ध गराउन सकिने अनुमान गरेको छ। वन विभागमार्फत देशभरका जिल्ला वन कार्यालयमार्फत संकलित तथ्यांकअनुसार तराई तथा भित्री मधेसबाट सर्वसाधारणको माग पूरा गराउन सक्ने दाउरा उपलब्ध हुनेछ।
थप दाउरा कैलाली, कञ्चनपुर तथा बाँकेबाट ल्याउन सकिने जानकारी वन विभागले दिएको छ।टीसीएनले प्रतिपरिवार कम्तीमा एक सय १० किलोसम्म दाउरा उपलब्ध गराइरहेको छ। व्यक्तिगत प्रयोगका लागि दाउरा लैजाने सर्वसाधारणलाई प्रतिकिलोग्राम १५ रुपैयाँ र संस्थालाई १७ रुपैयाँ मूल्य तोकिएको छ।
EmoticonEmoticon