निर्णायक वार्ताबारे कांग्रेसलाई थाह छैन
काठमाडौँ : सीमाङ्कनमा चित्त नबुझी आन्दोलनरत तराई मधेसकेन्द्रित दलसँग आज गर्ने भनिएको निर्णायक वार्ताका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई कुनै जानकारी नै छैन ।
“सत्तारुढ दलहरुले तराई मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरे, कहाँ र कहिले वार्ता हुन्छ, नेकालाई कुनै जानकारी छैन”–नेकाका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीसँग भने।
नेका संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको पदाधिकारी बैठकपछि उहाँले निर्णायक वार्ताका बारेमा नेकालाई कुनै जानकारी नभएको बताए। सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत पक्षसँग मुख्यतः सीमाङ्कनका विषयमा आज निर्णायक वार्ता हुने सार्वजानिक भएको थियो ।
बैठकले आफ्ना पार्टी सभापति सुशील कोइरालाको कार्यसमयमा आएको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जस्ताकोतस्तै ल्याउन सरकारसँग मागसमेत गरेको छ ।
नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता बडूलगायतको सहभागिता थियो ।
बैठकले तराई मधेसमा आन्दोलनरत पक्षले उठान गरेका मुख्य माग सीमाङ्कनलाई सम्बोधन गर्न नेका नेतृत्वको सरकारले निर्वाचन क्षेत्र निर्धारण र समावेशीताबारे संविधान संशोधन विधेयकलाई अगाडि बढाउन पनि सरकारसँग माग गरेको प्रवक्ता बडूले जानकारी दिए। रासस
EmoticonEmoticon