सामाजिक सद्‌भाव बढाउँदैछ छठले



वीरगन्ज: वीरगन्ज बजारमा सोमबार बिहान भीख माग्दै गरेको अवस्थामा भेटिएका वीरगन्ज भन्सार एजेन्ट संघका कार्यालय सचिव विनोद परियारले भने, ‘भीख मागेरै छठ पर्व गर्ने आमाको भाकल पूरा गर्दैछु।' 
 
परियारकी आमा राधा देवीले २०५० सालदेखि छठ मनाउँदै आएकी छन्। ‘भगवान्को कुनै जात र समुदाय हुँदैन', राधादेवीले भनिन्, 'छठी माताप्रति मेरो अगाध आस्था छ।'
 
वीरगन्ज अशोकवाटिकाकी सुमन पाण्डेले पनि एक दशकदेखि छठ पर्व मनाउँदै आएकी छन्। 'श्रीमान् बिरामी हुनुहुन्थ्यो। उहाँलाई सन्चो भयो भने म छठ पूजा गर्छु भन्ने भाकल गरेँ’, उनले स्मरण गरिन्, ‘उहाँको रोग निको भएकाले त्यही सालदेखि छठको व्रत सुरु गरेकी हुँ।'
छठ पर्वलाई तराई मधेसवासीको चाड भन्ने गरिए पनि पछिल्लो समय पहाडी मूलका महिलाले पनि छठ पर्व मनाउँदै आएका छन्। वीरगन्जमा झन्डै २० प्रतिशत पहाडी मूलका समुदायको बसोबास छ। 
यहाँका अधिकांश पहाडी मूलका महिलाले पनि छठ पर्व मनाउँदै आएको भोजपुरी साहित्यमा विद्यावारिधि गरेका प्राडा विश्वम्भर शर्मा बताउँछन्। 'छठ मधेसी पहाडी सबै समुदायको पर्व भएको छ । छर्ठ पर्व सामाजिक सद्भाव र सामाजिक सहिष्णुताको पर्व हो', उनले भने।  (यसरी मनाइदैछ वीरगन्जमा छठ (फोटो फिचर)
 
वीरगन्ज घडिअर्वाका शम्भु साह कानू भन्छन्, ‘सामाजिक सद्भाव र प्रेम हेर्नु छ भने छठ घाटमा जानुस्, त्यहाँ न कसैले जाति सोध्छ न कसैले धर्म सोध्छ। सबैले एक भाव एक चित्तले मनाउँछन्।' 
 
मधेसमा जारी आन्दोलनका कारण मधेसी र पहाडीबीच आपसी कटुता बढेका बेला छठ पर्वले सामाजिक सद्भाव बढाएको नागरिक समाजका अगुवा पन्नालाल गुप्ताको भनाइ छ।

छठमा 'पहाडी-मधेसी' सँगसँगै
 
विराटनगर: तराई मधेस अहिले आन्दोलनमय छ । कतिपयले पहाडी र मधेसी भन्दै भड्काउन खोजे पनि छठ पर्व मनाउन दुवै समुदाय एकै ठाउँमा भेला भएका छन्। 
 
विगत वर्षझैं पूर्वी तराईका ग्रामीणदेखि सहरी भेगमा पहाडी र मधेसी समुदाय एउटै घाटमा छठ पूजा गर्न र परम्परा धान्न व्यस्त देखिएका छन्।
विराटनगर-१४ की अनिता श्रेष्ठ सोमबार निकै हतारमा थिइन। 
 
स्थानीय गुद्री बजारमा छठको किनमेलका लागि पुग्दा सडकमा खुट्टा टेक्ने ठाउँ थिएन। उनले हतार गर्दै पूजा सामग्री खरिद गरेपछि भनिन्, ‘छठ मनाउन थालेको दस वर्ष भइसक्यो । छठ पूजालाई यो वा ऊ समुदाय विशेषको भन्ने गरेका छैनौं।'
 
विराटनगर-१० की शान्ता कोइरालाले कुनियामा पूजा सामग्री राखेर सोमबार नै व्रत बसेकी छिमेकी कहाँ पुर्‍याइन्। उनकी छिमेकी मधेसी समुदायकी हुन्। 
 
 
विगत वर्षझैं यो वर्ष पनि कोइरालालाई पूजामा सहभागी हुन छिमेकीले निमन्त्रण दिए। 'हरेक वर्ष मैले रमाइलोसँग यो पर्व मनाउने गरेकी छु', कोइरालाले भनिन्।
 
विराटनगरमा छठ पूजामा सहभागी हुने पहाडी समुदायले पूजा सामग्री छिमेकी तथा चिनजानका मधेसी समुदायकै घरमा पुर्‍याउने गर्छन्। व्रतालुका परिवारले ती सामग्री सँगै घाटसम्म लग्छन् । छठ पूजामा विगत वर्षदेखि पहाडी समुदायको पनि व्यापक सहभागिता देखिन थालेको छ।
 
विराटनगरका सामाजिक अगुवा दीपक कर्णले छठ पर्व आपसी मेलमिलाप र भाइचारा कायम गराउने दह्रो माध्यम भएको बताए। 'अहिलेको सन्दर्भमा त छठ पर्वले आफ्ना मनमा रहेका तुष र रिसराग मेट्न बल दिएको छ', उनले भने। 
 
मेलमिलापमा रहेको समुदायबीच संस्कृति र संस्कारको हस्तान्तरण हुँदा नयाँ पुस्तामा पनि यसले सकारात्मक सन्देश दिने मधेसी अगुवा बताउँछन्।विराटनगरको सिंघिया, केशलिया र पिचरा घाटमा छठ उल्लासपूर्ण रूपमा मनाइन्छ। झापाको कन्काई, विरिङ, मेची, रतुवा र सुनसरीको बूढी, सुनसरी, कोसीमा छठ मनाउने गरिन्छ।

 
व्रतालुहरूले खरना खाए 
 
राजविराज: सबै समुदायले निष्ठापूर्वक मनाउन थालेको समावेशी पर्व छठको दोस्रो दिन सोमबार ब्रतालुहरूले खरना खाएका छन्। 
 
पहिलो दिन आइतबार नजिकको खोला, नदी, पोखरीलगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध खाना खाई 'अरबा-अरबाइन' गरेका व्रतालहरूले सोमबार पञ्चमीमा दिनभरि उपवास बसेर साँझपख खरना खाएका हुन्।
 
छठ पर्वको अघिल्लो दिन सोमबार दिनभरि निर्जला उपवास बसेका व्रतीहरूले बेलुकीपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजाकोठामा माटोको नयाँ चुल्होमा माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाएका थिए। 
 
त्यसपछि गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई केराको पातमा राखेर पायस (खीर) चढाएपछि व्रतीहरूले सो खीर र केरा प्रसादको रूपमा ग्रहण गर्नुका साथै परिवारका सदस्यहरूलाई पनि खान दिएका छन् । खरनापछि व्रतीले पूर्ण व्रत लिनुपर्ने राजविराज— ७ की सीता बोहराले बताइन्।
 
पर्वको तेस्रो दिन मंगलबार गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान-पिसान गरी त्यसबाट निस्केको पीठो र सक्खरबाट ठेकुवा, भुसुवा, कसारलगायतका खाद्यसामग्री विशेष चनाखोका साथ बनाइन्छ। पूजाको सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वासले आवश्यक सामानहरूलाई चोखो राख्न व्रतालुहरूले विशेषरूपमा रेखदेख गर्ने गर्छन्।
 
पूर्णरूपमा शाकाहारी रहनुपर्ने छठ पर्वमा ठेकुवा, भुसुवा, फलफूल र कसारले विशेष महत्व राख्ने गरेको छ। यस पर्वमा बाँसले बनेको नाङ्लो, कोनिया, ढकिया, माटोको दियो, हात्ती, घैला र कराईका साथै मूला, गाजर, ज्यामिर, नरिवल, भोगटे, सुन्तला, केरा, उखु, सुठनी, पानी फल, नरिवल, बोडी, बेसारको गाँठो, अदुवाको बोट तथा ठेकुवा, भुसुवा, खजुरी, पुडकिया आवश्यक पर्छ।
 
छठ पर्वका लागि आवश्यक पूजा सामग्री तथा माटा र बाँसका सामग्रीहरूको माग बढेकाले अहिले व्यापारीसहित कुम्हाले र डोमहरूलाई समेत समान बनाउन र बिक्री गर्न भ्याइनभ्याइँ भएको छ।पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालुहरूले मंगलबार साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्छन् र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पूजा गरी छठ पर्व सम्पन्न गरिन्छ। 
 
सबैभन्दा बढी गाविस रहेको सप्तरी जिल्लाको सबैजसो गाविसमा रहेको पोखरीमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिँदै छ भने भारदहस्थित सप्तकोसी ब्यारेजमा सप्तरी, सुनसरीसहित सीमावर्ती भारतका विभिन्न गाउँबाट समेत आएर श्रद्धालुहरूले छठका लागि स्थान ओगटेका छन्।

Previous
Next Post »