अनाथ बालबालिकाकी संरक्षक म्यागी सीएनएन हिरो
सुर्खेत : वीरेन्द्रनगरमा रहेको कोपिला भ्यालीका सञ्चालक म्यागी डोइनले सीएनएन हिरो–२०१५ को उपाधी जितेकी छन् ।
विश्वका उत्कृष्ट सामाजिक सेवामा संलग्न व्यक्तिहरुलाई पछाडि पार्दै उनी यस वर्षको सीएनएन हिरोको उपाधि हात पार्न सफल भएकी हुन् । यो सँगै नेपालले तेस्रो पटक सिएनएन हिरोको उपाधी जितेको छ ।
मध्यपश्चिम क्षेत्रका टुहुरा तथा सडक बालबालिकाहरुलाई आवासिय सुविधासहित शिक्षा प्रदान गर्दै आएकी अमेरिकी नागरिक म्यागीलाई यस वर्षको सीएनएन हिरो घोषणा गरिएको छ ।
यसअघि उत्कृष्ट दश जनाभित्र पर्न सफल म्यागीले अन्य नौ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै यो उपाधी जितेकी हुन् ।
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले मंगलबार राति अन्तिम नतिजा सार्वजनिक गर्दै उनलाई सीएनएन हिरो–२०१५ घोषणा गरेको हो ।
यसअघि विश्वका समाजसेवीहरुबाट उत्कृष्ट २५ र उत्कृष्ट १० जना भित्र पर्न सफल भएकी म्यागी अनलाइन भोटिङ्गका आधारमा यो उपाधी जित्न सफल भएकी हुन् ।
५ वर्ष अघिदेखि सुर्खेतमा बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएकी २८ वर्षिया म्यागीलाई सीएनएनले सुरुवातदेखि नै हिरोका लागि मनोनयन गरेको थियो ।
मनोनयनमा परेका उत्कृष्ट १० जना मध्ये अनलाइन भोटिङका आधारमा म्यागीलाई सीएनएन हिरोको रुपमा छनौट गरिएको सीएनएनले जनाएको छ । हरेक वर्ष प्रदान गरिदै आएको यो उपाधि यसवर्ष म्यागीले हात पारेसँगै नेपालले तेस्रो पटक यो उपाधी जितेको छ ।
यसअघि नेपालका समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले यो उपाधी हात पार्न सफल भएका थिए । यो पुरस्कारको राशी २ लाख ५० हजार अमेरिकी डलर रहेको छ ।
सन् २००६ मा भारत भ्रमणमा आएको बेला त्यहाँ नेपालका बालबालिकाहरु कष्टपूर्ण काम गरिरहेको देखेपछि म्यागी त्यस्ता बालबालिकाहरुलाई सेवा गर्न भन्दै नेपाल आएकी थिइन् ।
यस क्षेत्रमा रहेका बालबालिकाहरु विभिन्न कारणले शिक्षाबाट वञ्चित भएको देखेपछि उनले सन् २०१० मा वीरेन्द्रनगरमा कोपिला भ्याली विद्यालय स्थापना गरेकी थिईन् । कक्षा १० सम्म पढाई हुने कोपिलामा अहिले साढे तीन सय बालबालिका अध्ययनरत छन् ।
अभिभावक गुमाएका र सडक बालबालिकाहरुलाई खोजेरै आवाससहितको निशुल्क शिक्षा प्रदान गरेकाले म्यागीलाई सीएनएन हिरोको उपाधी दिइएको सीएनएनको वेवसाइटमा उल्लेख गरिएको छ ।
म्यागीले विद्यालय सञ्चालन गरेदेखि नै सीएनएनले विद्यालय र म्यागीको निरन्तर निगरानी गरिरहेको थियो । सामाजिक सेवामा उनले पु¥याएको योगदानको मुल्यांकन गर्दै केही महिना अघि मात्रै सीएनएनको टोली सुर्खेत आएर उनको बारेमा विस्तृत अध्ययन समेत गरेको थियो ।
अनाथ बालबालिकासँग म्यागी डोइन् । तस्बिर : ललितबहादुर बुढा
विश्वमा सामाजिक सेवामा उत्कृष्ट कार्य गरेकाहरुमध्येबाट हरेक वर्ष सीएनएन हिरो छनौट गर्ने गरिन्छ । सीएनएनले मंगलवार राति विषेश समारोहमार्फत म्यागीलाई सीएनएन हिरो घोषणा गरेको छ । यसअघि टप टेनमा परेपछि नै म्यागी अमेरिकातर्फ गएकी थिइन् ।
यो नेपालीको जित हो : म्यागी
यसैबीच सीएनएन हिरोको उपाधी जितेपछि म्यागीले यो नेपालीको विजय भएको प्रतिक्रिया दिएकी छन् । ‘
यो उपाधिले आफूलाई थप हौसला मिलेको भन्दै उनले अनलाइन कुराकानीमा अन्नपूर्णसँग भनिन्, ‘मैले यो पुरस्कार जित्नका लागि काम गरेकी थिइन, मेरो मुख्य उद्देश्य भनेको टुहुरा र सडक बालबालिकाहरुलाई शिक्षाको ज्योति दिनु नै हो ।’
उनले आफ्नो कामको सही मुल्यांकन भएको भन्दै सम्पूर्ण नेपालीको लागि नै गौरवको कुरा भएको प्रतिक्रिया दिइन् । साथै उनले विद्यालयलाई थप विस्तार गर्ने आफ्नो आगामी योजना रहेको समेत जानकारी दिइन् ।
म्यागी सीएनएन हिरो बन्न सफल भएपछि सुर्खेतीहरुले खुशीयाली मनाएका छन् । उनले सञ्चालन गरेको विद्यालय कोपिला भ्यालीमा अध्ययनरत बालबालिकाहरुले म्यागीको विजयले आफूहरुको भविष्य थप उज्वल हुने भन्दै खुशीयाली मनाउन थालेका छन् । कोपिला भ्याली समाजले म्यागीलाई मतदान गर्ने सबैप्रति आभार प्रकट गरेको छ ।
EmoticonEmoticon