हवाईमार्गबाट औषधि ल्याउँछौः स्वास्थ्यमन्त्री


  • 17 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightGetty
Image captionभारतसँगका सीमामा जारी अवरोधका कारण नेपालमा सामानहरु भित्रिन सकेका छैनन्।
भारतसँगका सीमानाकामा जारी अवरोधका कारण औषधि जस्ता जीवनरक्षक वस्तुहरुको बजारमा अभाव देखिएपछि हवाईमार्गबाट ल्याउने तयारी भईरहेको स्वास्थ मन्त्रालयले जनाएको छ।
स्वास्थमन्त्री रामजनम चौधरीले बजारमा अभाव देखिएका औषधिहरु झिकाउनका लागि प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रालयहरुसँग छलफल भईसकेको बताए।
रगत संकलन गर्ने ब्यागदेखि लिएर सुई जस्ता महत्वपूर्ण जीवनरक्षक औषधिजन्य सामाग्री र औषधिहरुको देशभर अभाव भएको भन्दै व्यवसायी र ठूला अस्पतालहरुले स्वास्थ मन्त्रालयदेखि प्रधानमन्त्रीसँग अत्यावश्यक औषधिको उपलब्ध गराउन अनुरोध गर्दै आएका थिए।
सीमा अवरोध तत्कालै खुल्ने छनक नदेखिएपछि स्वास्थ मन्त्रालयले बजारमा अभाव भएका औषधिहरु हवाईमार्गबाट ल्याउने तयारी भइरहेको बताएको छ।

तयारी

स्वास्थमन्त्री चौधरीले निकै चाँडै नै त्यस्ता औषधीहरु ल्याइने बताएपनि त्यो कहिलेसम्म आउने हो भन्नेबारेमा स्पष्ट जवाफ दिएनन्।
उनले भने, “जुनजुन औषधि नेपालमा उत्पादन हुँदैन, त्यस्ता औषधिहरु हामी हवाईमार्गबाट छिट्टै नै झिकाउने तरखरमा छौँ, यसको लागि हामी अध्ययन गर्दैछौं।”
अत्यावश्यक औषधिहरुको अभाव बढेसँगै डाक्टरहरुले शल्यक्रिया जस्ता महत्वपूर्ण कामको संख्या घटाइरहेको बताइएको छ भने गम्भीर खाले रोगका बिरामीहरु उपचार पाउन नसकिरहेको अस्पतालहरुले बताउँदै आएका छन्।

अभाव

छिमेकी भारतबाट मात्र ६० प्रतिशत औषधिहरु आयात हुने र ती औषधिहरु नाकाहरुमा अड्किरहेको बताउने व्यवसायीहरु अहिलेकै स्थिति यथावत रहे समस्या विकराल बन्ने बताउँछन्।
नेपाल औषधि व्यवसायी संघका पूर्व अध्यक्ष बाबुराम भट्टराई भन्छन्, “जीवनरक्षक औषधिहरु पूरै अभाव भइसक्यो, एउटा सानो औषधि नहुँदा पूरै शल्यक्रिया रोकिएको अवस्था छ।”
अभावलाई पूर्ति गर्न विश्व स्वास्थ संगठन डब्लुएचओ र बालबालिका सम्बन्धी राष्ट्र संघीय निकाय युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्पर्कमा रहेको सरकारले बताएको छ।
Previous
Next Post »