कहाँ हरायो यत्रो इन्धन ?
18 Nov 2015 | 06:46am
कहाँ हरायो यत्रो इन्धन ?
विराटनगर-भारतले अघोषित नाकाबन्दी लगाएयता पूर्वी नाका जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजेल र १ सय ४२ बुलेट ग्यास नेपाल भित्रिएको छ । जसमध्ये १ सय ८ ट्यांकर पेट्रोल, ३ सय ५७ ट्यांकर डिजेल र १ सय ६ वटा ग्यास बुलेट काठमाडौं पठाइएको छ ।
दसचक्के एउटा ट्यांकरमा २० हजार र ६ चक्केमा १२ हजार लिटर पेट्रोलियम (पेट्रोल–डिजेल) पदार्थ अट्छ । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ काठमाडौं पठाउन दसचक्के ट्यांकरकै प्रयोग भइरहेको स्रोतको भनाइ छ । काठमाडौं पु¥याइएका १ सय ८ ट्यांकरमा २१ लाख ६० हजार लिटर पेट्रोल थियो । ५ लिटरकै दरले वितरण गर्ने हो भन्ने जोगबनी नाकाबाट मात्रै काठमाडौं पुगेका पेट्रोल ४ लाख ३२ हजार सवारीसाधनले पाउँछ । असोज १८ देखि कात्तिक २९ गतेसम्म जोगबनी नाकाबाट विराटनगर डिपो आइपुगेका पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत गृह मन्त्रालयको निर्देशनमा काठमाडौं पुर्याइएको छ ।
काठमाडौंवासी भने पेट्रोलियम पदार्थको चरम अभाव झेल्दैछन् । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थमध्ये २५ प्रतिशत अर्थात् ३६ ट्यांकर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा वितरण गरिएको छ । छचक्के ट्यांकरको इन्धन विराटनगरमै राखिएको स्रोतको भनाइकै आधारमा एउटा ट्यांकरमा १२ हजार लिटर पेट्रोल हुन्छ । ३६ ट्यांकरलाई १२ हजारले गुणन गर्दा ४ लाख ३२ हजार लिटर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा आपूर्ति भएको छ । तर, कोसी–सगरमाथा अञ्चलमा पनि इन्धन वितरण सहज हुन सकेको छैन । नाकामा अवरोध भएयता विराटनगरका उपभोक्ताले लाइन लागेर ५ पटक ५ सय रुपैयाँको पेट्रोल मात्र लिन पाएका छन् ।
'जोगबनी नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ काठमाडौं नपठाएको भए यहाँ छेलोखेलो हुन्थ्यो,' नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, कोसीका उपाध्यक्ष अरबिन्द शर्माले भने, 'काठमाडौंको अभाव टार्न यहाँबाट इन्धन पठाइयो, त्यहाँका जनताले पनि पाएका छैनन्, आखिर त्यत्रो तेल गयो कहाँ ?' एक पेट्रोलियम व्यवसायीका अनुसार आयल निगमको ट्यांकर बाहेक पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ काठमाडौं गइरहेकै छ ।
असोज ७ देखिको नाकाबन्दीले जोगबनी नाकाबाट १२ दिन आयात–निर्यात पूरै ठप्प रह्यो । दुवै देशका उद्योगी–व्यवसायी, प्रशासन, भन्सारका अधिकारी र ट्रान्सपोर्ट एसोसिएसनका पदाधिकारीबीच सहमतिमा असोज १८ देखि जोगबनी नाका सुचालु भएको हो । जोगबनी खुलेलगत्तै गृहले मोरङ प्रशासनलाई पत्र लेख्दै भित्रिएको मध्ये ७५ प्रतिशत काठमाडौं पठाइदिन पत्राचार गरे ।
'गृहकै निर्देशनमा हरेक रात स्कर्टिङ गरेर पेट्रोलियम पदार्थ काठमाडौं पठाइरहेका छौं,' सुरक्षानिकायका एक अधिकृतले नागरिकसँग भने, 'जोगबनी नाकाबाट भित्रिएको इन्धनको ७५ प्रतिशत आयल निगमको क्षेत्रीय डिपोमा लगत राखेर सिधै काठमाडौं गइरहेको छ ।'
नेपाल आयल निगम क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार उसको कार्यक्षेत्र कोसी र सगरमाथा अञ्चलका १२ जिल्लामा दैनिक ३० ट्यांकर पेट्रोलियम पदार्थ खपत हुन्छ । जसमा २ लाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल पर्छ । यो सामान्य अवस्थाको माग हो । 'बन्द र पेट्रोलियम पदार्थ अभावले बाटोमा ३ महिनादेखि गाडी गुडेको छैन,' एक पेट्रोलियम व्यवसायीले भने, 'तर पनि इन्धन अभावै छ ।' आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोले भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ आयात गर्छ । निगमका क्षेत्रीय प्रमुख खिलेन्द्र कार्कीले पेट्रोलियम पदार्थ आपूर्ति तथ्यांक दिन नमिल्ने बताए ।
EmoticonEmoticon